काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा यार्सागुम्बाको निर्यात ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि जेठसम्ममा ६२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिभन्दा ३१ प्रतिशत बढी हो । अघिल्लो आव उक्त अवधिमा निर्यात परिणाम ४७६ किलोग्राम थियो ।
गत आवमा यार्सागुम्बाको निर्यात परिणामसँगै रकम पनि बढेको छ । गत आवको साउनदेखि जेठसम्ममा नेपालले ४० करोड ४९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट २९ करोड ६७ लाखको ४७६ किलोग्राम यार्सागुम्बा विदेशिएको थियो ।
१२ देशमा निर्यात, तीन चौथाइ हिस्सा हङकङ र कम्बोडियामै
नेपालबाट १२ ओटा देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ११ महीनामा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, इटाली, कोरिया, मलेशिया, सिङ्गापुर, संयुक्त अधिराज्य (युके), संयुक्त राज्य अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको थियो ।
समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । उक्त अवधिमा हङकङमा १८ करोड ८७ लाख रुपैयाँको २७३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा दोस्रोमा कम्बोडिया छ । समीक्षा अवधिमा कम्बोडियाले १२ करोड ४० लाख रुपैयाँको १८४ किलोग्राम नेपाली यार्सा भित्र्याएको छ । हङकङ र कम्बोडियामा निर्यात हुने हिस्सा कुल हिस्साको तीन चौथाइभन्दा बढी हो ।
नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा तेस्रो स्थानमा भियतनाम छ । विभागका अनुसार गत आवको समीक्षा अवधिमा भियतनाममा ४ करोड ५३ लाख रुपैयाँको यार्सागुम्बा विदेशिएको छ ।
त्यस्तै, सिंगापुरमा १ करोड ३१ लाखको, अमेरिकामा १ करोड १४ लाखको, चीनमा ९७ लाख १० हजारको, मलेसियामा ८० लाख ३८ हजार, संयुक्त अधिराज्यमा २० लाख ६३ हजारको र फ्रान्समा १० लाख २९ हजारको यार्सागुम्बा नेपालबाट निर्यात भएको छ । त्यसैगरी, इटालीमा ९ लाख ७८ हजारको, जर्मनीमा २ लाख ३० हजारको र कोरियामा ६२ हजारको यार्सागुम्बा विदेशिएको छ ।
कुन देशमा कति ?
देश
निर्यात (रुपैयाँमा)
हङकङ
१८ करोड ८७ लाख
कम्बोडिया
१२ करोड ४० लाख
भियतनाम
४ करोड ५३ लाख
सिंगापुर
१ करोड ३१ लाख
अमेरिका
१ करोड १४ लाख
चीन
९७ लाख १० हजार
मलेसिया
८० लाख ३८ हजार
संयुक्त अधिराज्य
२० लाख ६३ हजार
फ्रान्स
१० लाख २९ हजार
इटाली
९ लाख ७८ हजार
जर्मनी
२ लाख ३० हजार
द. कोरिया
६२ हजार
कुल
४० करोड ४९ लाख
स्रोत : भन्सार विभाग ।