फौजी कीराले मकै नष्ट गर्न थाल्यो

दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी कीराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो कीराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो कीराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा कीरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् । दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा कीरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।