अस्पतालको शय्या बढ्यो, दरबन्दी बढेन

पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको तीन वर्ष बितिसक्दा २०औँ पटक गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा सरोकारवाला निकायलाई भेटेर अस्पतालमा जनशक्ति व्यवस्थापन गर्नका लागि आग्रह गरिसक्नुभयो । उहाँको आग्रह व्यवस्थापन समितिको कार्यकाल सकिँदासम्मसमेत सुनुवाइ भएन । प्रदेशका ११ अस्पतालका व्यवस्थापन समितिको संयोजनसमेत गरिरहनुभएका अध्यक्ष पहाडीले अस्पतालको भौतिक पूर्वाधार तथा उपकरणमा प्रदेशले सहयोग गरे पनि दरबन्दी मिलान हुन नसक्दा समस्या भएको बताउनुभयो । “अस्पताललाई शय्या वृद्धि घोषणा नै गरेको दुई बर्ष बित्यो, भौतिक पूर्वाधारका हिसाबले समेत शय्या स्तरवृद्धिमा सेवा सञ्चालन गर्न अस्पताल सक्षम नै छन्, केही उपकरण र केही भौतिक पूर्वाधारसमेत बनिसके”, गण्डकी प्रदेशका अस्पतालका व्यवस्थापन समिति मिलेर गठन गरेको अस्पताल व्यवस्थापन समन्वय समितिका अध्यक्षसमेत रहनुभएका पहाडीले भन्नुभयो, “पूर्वाधार र उपकरणले मात्रै नपुग्दोरहेछ, जनशक्ति अभावले ११ जिल्लाकै अस्पताललाई आजित बनाएको छ, गण्डकी प्रदेशलाई २०औँपटक भन्दासमेत अस्पतालको अध्ययन गरी दरबन्दी थप (ओएनएम) गर्ने कुरा सुनुवाइ भएन ।”