आइफोन १४ किन्ने सोचमा हुनु हुन्छ ? केही महीना ढिला सार्वजनिक हुने

जेठ १३, सन फ्रान्सिस्को (अमेरिका) ।  के तपाई आइफोन १४ किन्ने विचारमा हुनु हुन्छ । आइफोन १४ कहिले आउला र किनौंला वा अरु कसैलाई उपहार दिउँला भनेर बस्नु भएको छ भने यो योजना केही समय थाँती राखिदिनुस् । किनकी अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले यो वर्षको सेप्टेम्बरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको आइफोन १४ सिरिजका फोन ढिला सार्वजनिक हुने भएको छ । समाचारहरुलाई पत्याउने हो भने चीनमा कोभिड नियन्त्रण गर्न लगाइएको ताजा बन्दाबन्दीको प्रभावका कारण उत्पादन प्रभावित भएपछि कम्पनीले फोन लञ्चको योजना थाँती राख्ने सम्भावना बढेको छ ।  निक्केई एशियामा छापिएको समाचारअनुसार एप्पल र यसका आपूर्तिकर्ताहरुलाई उत्पादनमा आएको कर्मीको पूर्ति गर्न सकस भइरहेको छ । चीनमा कोभिडसम्बद्ध महिनौं लामो बन्दाबन्दीका कारण सिरिजका कम्तिमा एउटा आइफोन मोडलको विकास कार्य पछाडि परेको छ । एप्पलले आपूर्तिकर्ताहरुलाई प्रडक्टको विकास तीव्र बनाउन भनेको छ ।    अवस्था सोचेभन्दा पनि खराब भयो भने चाँहि उत्पादन समयतालिका नै प्रभावित हुने र शुरुआतमी चरणमा नयाँ आइफोनको उत्पादन संख्या घट्न सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । बन्दाबन्दीका कारण अहिलेसम्म गुमेको समय भर्पाई गर्न चुनौतीपूर्ण छ..... एप्पल र यसका आपूर्तिकर्ताहरुले विकास कार्यलाई तीव्रता दिन चौबिसैं घन्टा काम गरिरहेका छन्,’ एक कार्यकारीको भनाइ उद्धृत गर्दै निक्केईले भनेको छ । उत्पादनमा ढिलाई विशेषगरी इन्जिनियरिङ भेरिफिकेशन टेष्ट (ईभीटी)मा  छ । यो भनेको आपूर्तिकर्ताहरुले सबै पार्ट्स फाइनल गरेर उत्पादन थालनी गर्न आवश्यक प्रक्रिया हो । एप्पलले हरेक वर्ष सेप्टेम्बरको अन्त्यतिर आइफोन सार्वजनिक गर्ने गरेको छ । कम्पनीले यो वर्ष पनि यही बेला आइफोन सार्वजनिक गर्ने हो भने जुनमा नै ईभीटी तयार भइसक्नु पर्छ । तर एउटा मोडलको ईभीटी तयार तीन हप्ता पछाडि सरेको समाचारमा भनिएको छ । यो त्यति पिर गर्नु पर्ने अवस्था होइन । तथापि, अवस्था अहिलेको भन्दा सुध्रिएन भने चाँहि बजारमा आइफोन१४ आइपुग्न केही ढिला हुन सक्ने छ । समाचारमा उद्धृत गरिएका विश्लेषकहरुका अनुसार चीनले कोभिड नियन्त्रण गर्न प्रतिबन्ध थप कसिलो बनाउन सक्ने भएकोले गुमेको समयको भर्पाई गर्न एप्पलले सक्नेमा आशंका गरिएको छ । यस अघि पनि एप्पलले आइफोन सार्वजनिक कार्यक्रम पछाडि सारेको दृष्टान्त छ । एजेन्सी