विराटनगर। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको भन्दै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीतिसम्बन्धी छलफल कार्यक्रममा उनले उक्त आवश्यकता औंल्याएका हुन् ।
प्रदेशमा कृषि उत्पादनमा संलग्न किसानलाई आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रको समस्या समाधान गर्न आफू लागिपर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउन उपयुक्त रणनीति बनाउन छलफल आयोजना गरिएको जानकारी दिए ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रको विकास अघि बढाउन सबै क्षेत्रको सहयोगको खाँचो औंल्याए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरूले काम गर्नुपर्ने सुझाव दिए ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले व्यापार प्रवर्द्धन रणनीतिमा प्रस्तुत गरिएका विषयलाई तथ्यांकको विश्लेषणबाट यथार्थपरक बनाइनुपर्ने बताए । उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले व्यापार प्रवर्द्धन रणनीति कार्यक्रममा निजीक्षेत्रबाट व्यापार प्रवर्द्धनका लागि कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विस्तृत रूपमा आउनुपर्ने बताए । सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा उच्च मूल्य शृंखलाका बालीको पहिचान गर्नुपर्ने सुझाव दिए । निजीक्षेत्रले सरकारी क्षेत्रबाट कृषिक्षेत्रमा लगानी अभिवृद्धिका लागि प्राप्त गर्ने सहुलियत, लगानीको ढाँचा लगायत विषय रणनीतिमा समेटिने जानकारी उनले दिए ।
कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले नेपालमा ठूला खालका गोदाम घरको निर्माण हुन सके उत्पादनको बजारीकरणमा सहज हुने बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले कृषि उत्पादन बिचौलियाको हातमा पुगेको भन्दै किसानलाई फाइदा हुने गरी मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिए । कृषि अभियानकर्मी मधु राईले कौसी खेतीबाट उत्पादित ड्रागन फ्रुट लगायत फलफूल र तरकारीले पनि बजार पाउन थालेको भन्दै कृषि व्यापार रणनीतिमा यस्ता विषय पनि समेट्नुपर्ने बताए ।
इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साहले इनरुवा लगायत स्थानमा निर्मित कोल्ड स्टोर प्रयोगमा आउन नसकेकाले कृषि यस्ता संरचनामा गरिने लगानीबारे व्यापार रणनीतिमा स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिए । स्नातकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्र विभागका प्राध्यापक रामकुमार ढुंगेलले किसानको प्रतिव्यक्ति आयस्तर वृद्धि, रोजगारी सृजना र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर कृषि व्यापार रणनीति बनाउनुपर्ने बताए ।