कात्तिक १६, भोजपुर । सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पतालहरुको शिलान्यास गरेको भएपनि कामको प्रगति भने न्यून रहेको छ । शिालान्यास गरिएका अधिकांश अस्पताल निर्माणको काम शिलान्यासमै सीमित भएका छन् ।
कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस भन्ने उद्देश्य नेपाल सरकारले ०७७ मंसिर १५ गते भोजपुरका ९ ओटा स्थानीय तहमध्ये ७ ओटा स्थानीय तहहरुमा ५ देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेको थियो ।
संघीय सरकारले नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शीलान्यास गरे पनि निर्माण कार्यमामा ढिलाई हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।
जिल्लाको पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ बेडको अस्पताल शिलान्यास गरिएको हो ।
सात ओटा मध्ये पाँच ओटा अस्पतालको टेण्डर प्रक्रिया सम्पन्न भएर काम शुरु भई सकेको छ । त्यस्तै अरुण गाउँपालिकाले कात्तिक १४ गते टेण्डर खुलाउने जानकारी दिएको छ भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अस्थामा रहेको छ ।
पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । २०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजारमा टेण्डर लागेको उक्त अस्पताल ५ बेडको निमार्ण हुने प्रमुख प्रशासकिय अधिकृत रामेश राईले बताए । हालसम्म फाउन्डेसन खन्ने जग बसाउने लगायतको काम सम्पन्न भइसकेको छ ।
त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि ६ करोड ६५ लाख लागतमा ५ बेडको अस्पताल निर्माणको लागि २०७८ असार महीनामा टेण्डर प्रक्रियाबाट काम शुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए । वर्षातका कारण सामान ढुवानी गर्न यातयातको समस्या हुँदा काममा केहि ढिलाई भएको अध्यक्ष राईले बताए । बाटो राम्रो भएपछि कामले गति लिने अध्यक्ष राईको दाबी छ ।
आमचोक गाउँपालिकामा पनि १२ करोड ५० लाख लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि २०७८ वैशाखमा टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ । भवनको डिपिआर तयार गर्दा केही ढिलाइ भएको भए पनि समयमै काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई तागेता गर्ने गाउँपालिका अध्यक्ष अशोक राईले बताए ।
केन्द्र सरकारले ५ बेडको अस्पाल निर्माणको लागि निर्देशन गरेको भएपनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० बेडको अस्पताल निर्माणको काम शुरु गरिएको अध्यक्ष राईले बताए ।
हतुवागढी गाउँपालिकामा १६ करोड लागतमा २०७८ असार महीनामा टेण्डर प्रक्रिया मार्फत १५ बेडको अस्पताल निमार्णको काम शुरु गरिएको छ । केन्द्र सरकारको एक स्थानीय तह एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए ।
अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको थियो । अस्पताल निर्माण पश्चात आधारभुत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने अध्यक्ष राईको भनाइ छ ।
यता रामप्रसादराई गाउँपालिकाले भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन् ।
राईले भनिन् ‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यक पर्ने रहेछ । हामीले भर्खर जग्गा टुङ्गो लगाई सकेका छौँ । अब चाडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम शुरु हुन्छ ।’
षडानन्द नगरपालिकामा भने यो भन्दा पहिलानै १५ बेडको गान्दी मेमरीयल अस्पताल निर्माण भई सकेकोले त्यसैबाट नगरपालिकाका नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया नगरेको मेयर विरवल राईले जानकारी दिए । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताइन् ।
जिल्लामा ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३ सहरी स्वास्थ केन्द्र, ७ सामुदायिक स्वास्य ईकाई ७ र १ जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए । स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि केन्द्र सरकारले हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख थापाले बताए ।