हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ६३.७३ प्रतिशत बढ्यो, १ अर्ब २२ करोडभन्दा बढी बीमा शुल्क आर्जन

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३ दशमलव ७३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ११ करोड २५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १८ करोड ४३ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी ९ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. ७३ करोड ८३ लाख रहेकोमा चालू आवमा बढेर रू. ८० करोड ६२ लाख पुगेको हो ।  चालू आवमा कम्पनीले रू. १ अर्ब २२ करोड ५५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू. ९३ करोड ८८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा  कम्पनीको कुल बीमा शुल्क आर्जन ३० प्रतिशतले वृद्धि भएको हो । चुक्ता पूँजी रू. २ अर्ब ३० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. ३१ करोड २२ लाख र महाविपत्ति कोषमा रू. ६ करोड १६ लाख सञ्चिति गरेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ २ पैसा पुगेको हो । दोस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४० दशमलव १० गुणा र प्रतिशेयर नेटवर्थ १ सय ९४ रुपैयाँ ८५ पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्