माघ २८, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ६ गुणा अर्थात् ७६३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ५ करोड ७१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड ३९ लाख पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवको सोही अवधिमा ७५९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १९ करोड रहेको छ भने शेयर प्रिमियममा रू. ५ लाख १० हजार, रिटेण्ड अर्निङमा रू. ५१ करोड १९ लाख र जगेडामा रू. १ अर्ब ५९ करोड सञ्चित गरेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ६३ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४५ दशमलव शून्य १ पुगेको हो ।
कम्पनीको मूल्य आम्दानी अनुपात २८ दशमलव ९९ गुणा, तरलता अनुपात ७ दशमलव ४८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९६ दशमलव १९ रहेको छ ।