६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।