संसद विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी

दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेको बाँकी रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दोस्रो पटक प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० रिटमध्ये १४६ सांसदको तर्फबाट परेको रिटलाई मुल मुद्दा मानि फैसला गरेपछि बाँकी रहेको २९ रिटमाथि आज सुनुवाइ भइरहेको बताउनुभयो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले यसअघिकै इजलासलाई निरन्तरता दिनुभएको छ । इजसालमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ । जेठ ८ मा भएको संसद विघटनविरुद्ध सर्वोच्चमा २६ रिट प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बनाउन माग गर्दै र चार रिट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बनाउन माग गर्दै दर्ता भएका थिए । विघटन मुद्दाको फैसलापछि सर्वोच्चले पहिलोपटक मुद्दाको सुनुवाइ गर्न लागेको हो ।