हिलस्टेशन पर्यटनमार्फत समृद्धि: पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रम आवश्यक

भारतमा ब्रिटिश शासनकालमा हिमालय पर्वत शृंखलाको फेदीमा आनन्द सेवन गर्ने उद्देश्यले पूर्वदेखि पश्चिमसम्म १८२ ओटा हिलस्टेशनको जग हालिएको थियो । आज आएर तिनै हिलस्टेशन भारतको आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । कोलकाताका लागि गान्तोक, दार्जिलिङ, पश्चिमी उत्तर प्रदेश, नयाँ दिल्ली, हरियाणा, पञ्जाबतिरका बासिन्दाका लागि शिमला, नैनीताल, देहरादुन, कुुल्लु, मनाली, अल्मोडा, काँकडा पर्यटनको निर्विकल्प गन्तव्यका रूपमा विकास भएका छन् । नेपालजस्तै भौगोलिक र सांस्कृतिक विशेषता बोकेको भारतका हिमाञ्चल, सिक्किम, दार्जिलिङमा वार्षिक रूपमा भित्रिने आन्तरिक पर्यटकको संख्या क्रमश: १ करोड २७ लाख, १ करोड २० लाख र ३ करोड १८ लाख रहेको छ । समग्रमा भन्नुपर्दा निकटवर्ती मैदानका बासिन्दा पर्यटकका रूपमा यी तीनओटा क्षेत्रमा मात्रै करीब ६ करोडको हाराहारीमा घुम्न आउँछन् ।  पर्यटन मन्त्रालय, हिमाञ्चलका अनुसार त्यहाँ वार्षिक रूपमा भित्रिने आन्तरिक पर्यटकमध्ये करीब ८१ प्रतिशत पर्यटक एक वा त्योभन्दा बढी रात हिमाञ्चलमा नै बिताउने गरी आउँछन् । तीमध्ये करीब ६१ प्रतिशत पर्यटक आराम र आनन्दका लागि हिमाञ्चल घुम्न जाने गर्छन् । त्यहाँ जाने कुल पर्यटकमध्ये करीब २५ देखि ४४ वर्ष उमेरसमूहका पर्यटकको अंश औसतमा ७२ प्रतिशत रहेको छ । हिमाञ्चल प्रदेश घुम्न जाने पर्यटकमध्ये करीब ५० प्रतिशत पर्यटक सरकारी सेवामा रहेका छन् । उद्देश्यगत रूपमा हेर्दा ७२ प्रतिशत पर्यटक बिदा मनाउन जाने गरेको देखिन्छ । ती पर्यटकमा पनि ८४ प्रतिशतले सार्वजनिक बस प्रयोग गरी हिमाञ्चल प्रदेश भित्रिने गरेको पाइन्छ । हिमाञ्चल घुम्न जाने आन्तरिक पर्यटकमध्ये वर्षमा एकपटक जाने पर्यटकको अंश ६९ प्रतिशत, वर्षमा दुईपटक घुम्न जाने पर्यटकको अंश १९ प्रतिशत र ३–३ महीनामा घुम्न जाने पर्यटकको अंश ४ प्रतिशत रहेको देखिन्छ । हिमाञ्चल प्रदेश घुम्न जाने ९१ प्रतिशत पर्यटकले आफ्नो यात्रा आफै व्यवस्थापन गरेको पाइन्छ । ८० प्रतिशत पर्यटकले ताराविहीन होटेलमा बस्ने गरेको पनि अध्ययनले देखाएको छ । ३९ प्रतिशत पर्यटकले पत्रपत्रिकालाई सूचनाको स्रोत मानेका छन् भने ४२ प्रतिशत पर्यटकले टेलिभिजनलाई सूचनाको स्रोत मानेका छन् । बाँकी १५ प्रतिशतले पत्रपत्रिका र टेलिभिजन दुवैलाई सूचनाको स्रोत मानेको देखिन्छ । त्यहाँ घुम्न जाने पर्यटकमध्ये ३६ प्रतिशत पर्यटकले ढाबामा खान रुचाएको पनि अध्ययनमा उल्लेख छ । यसै गरी वाािर्षक १ लाख भारूदेखि २ लाख भारू आम्दानी भएका पर्यटकको अंश १२ प्रतिशत रहेको छ भने वार्षिक २ लाख भारूदेखि ५ लाख भारू आम्दानी भएका पर्यटकको अंश ८४ प्रतिशत रहेको देखिन्छ । उपर्युक्त तथ्यांकले नेपालका हिलस्टेशनमा आधारित पर्यटनको ढाँचा कस्तो हुने र त्यस्ता हिलस्टेशनमा पर्यटन प्याकेजहरू विकास गर्दा केके विषयमा ध्यान दिनुपर्छ भन्ने एउटा मार्गनिर्देश गर्छ । आवागमनको सहजता र गन्तव्यको पूर्ण जानकारीका कारण भारतमा आन्तरिक पर्यटनको विकास दु्रत गतिमा भइरहेको छ । भारतको पर्यटन मन्त्रालयको तथ्यांकअनुसार भारतमा एक प्रदेशबाट अर्को प्रदेशमा यात्रा गर्ने आन्तरिक पर्यटकको संख्या नै करीब १ अर्ब ६० करोडको हाराहारीमा रहेको छ । पर्यटन पूर्वाधारमा भारत सरकारको लगानी, प्रचारप्रसार र आयस्तर अनुसारका होटेल र भोजनगृहको पर्याप्त व्यवस्था, सस्तो र सर्वसुलभ विभिन्न प्रकारका यातायातका साधन, सुरक्षित र गुणस्तरीय मार्गहरू, यातायातका साधनहरूको निर्बाध आवागमनको सुविधा, ब्रिटिशहरूले स्थापना गरिदिएको साख र मौसमी हिमपात, समशीतोष्ण सदावहार जलवायु, पर्वतीय हरियालीयुक्त सुन्दरता र मर्यादित होटेल व्यवसायका कारण हिटस्टेशनहरूमा भारतका मैदानी भागका पर्यटकको घुइँचो लाग्ने गरेको छ । यदि भारतीय यात्रुहरूका लागि भारतमा झैं नेपालमा हिलस्टेशनहरूमा सहज आवागमनको अवस्था सृजना गर्ने हो भने भारतको अन्तरराज्य पर्यटन अन्तरदेशीय पर्यटनमा रूपान्तरण गर्न सकिने सम्भावना उच्च रहेको छ । भारतीय प्रकाशन इकोनोमिक टाइम्सका अनुसार हिलस्टेशनमा आधारित पर्यटनको बसाइ अवधि छोटो हुँदै गएको र हालका वर्षहरूमा आएर हिलस्टेशनमा आधारित पर्यटनको आकर्षणमा कमी आएको छ । यसका हिलस्टेशनहरूमा भीडभाड बढ्नु, गाडी पार्किङको समस्या रहनु, हिलस्टेशनहरू कोलाहलयुक्त हुनु, यात्रामा क्रममा पहिरोको समस्याहरू बढ्दै जानु, गुणस्तरीय होटलको साटो दर्ता नभएका सस्तो दरका होटेलका कारण पर्यटन सेवाको गुणस्तरमा ह्रास आउनुजस्ता कारणहरूलाई जिम्मेवार तत्त्वका रूपमा पहिचान गरिएको छ । नेपालको सन्दर्भमा नेपाली हिलस्टेशनहरू तुलनात्मक रूपमा शान्त प्रकृतिका रहेका कारण भारतीय पर्यटकको रोजाइमा पर्न जाने देखिन्छ ।  भारतको हिमाञ्चल, उत्तराखण्ड, सिक्किम र दार्जिलिङमा रहेका १८२ ओटा हिलस्टेशनजस्ता सयौं थरी हिलस्टेशन नेपालमा उपलब्ध छन् । यहाँका चुरे पर्वतदेखि हिमालय पर्वतका बीचमा हरेक डाँडाका थुम्काहरू देवस्थलले भरिएका छन् भने तिनका मुनि रहेका थुम्काहरू, पाटनहरू र बस्ती विकासयोग्य भिराला तर समथर पाखाहरूको आँकडाले हजारको अंक सजिलै नाघ्न सक्ने देखिन्छ । जसरी हिमाञ्चल र उत्तराखण्डका हिलस्टेशनहरू दिल्ली, हरियाणा र पञ्जाब र राजस्थानका बासिन्दालाई पायक छन् त्यसै गरी भारतकै सबैभन्दा बढी जनसंख्या बस्ने उत्तर प्रदेश, विहार, झारखण्ड र पश्चिमबंगालका लागि नेपालका हिलस्टेशन पायक पर्ने स्थान हुन् । नेपालले उचित व्यवस्थापन गर्न सक्ने हो भने यी क्षेत्रका बासिन्दामा पनि नेपालका हिलस्टेशनहरू शिमला, मनाली, गान्तोक, दार्जिलिङजस्तै जनजिब्रोमा झुन्डिने निश्चित छ ।  जसरी हिमाञ्चल र उत्तराखण्डका हिलस्टेशनहरू दिल्ली, हरियाणा, पञ्जाब र राजस्थानका बासिन्दाका लागि पायक छन् त्यसैगरी भारतकै सबैभन्दा बढी जनसंख्या बस्ने उत्तर प्रदेश, विहार, झारखण्ड र पश्चिमबंगालका लागि नेपालका हिलस्टेशनहरू पायक पर्ने स्थल हुन् । यस अवसरलाई व्यवहारमा उतार्न देहायका विषयहरूमा हाम्रो ध्यान जानु आवश्यक देखिन्छ । यसका लागि सर्वप्रथम मर्यादित, सुरक्षित र इमानदारीयुक्त सेवाको प्रत्याभूति दिने गरी पर्यटन सेवाको स्तरोन्नति गर्नुपर्छ । भारतीय पर्यटकलाई पर्यटक नै नमान्ने, अपशब्द बोल्ने र चर्को मूल्यमा गुणस्तरहीन सेवा दिने गलत प्रचलनलाई नेपाल सरकार र होटेल व्यवसायीहरूका छाता संगठनहरूले नियन्त्रण गर्नुपर्छ । दोस्रो, भारतीय पयर्टकलाई परिवारसँगै बसेर आनन्द लिन सक्ने मर्यादित मनोरञ्जनको व्यवस्था गरिनु पनि अति आवश्यक देखिन्छ । भारतीय पर्यटकको रुचिगत विविधतालाई दृष्टिगत गरी पर्यटन सेवाको विविधीकरण गर्दै द्यूत पर्यटन (क्यासिनो), साहसिक पर्यटन, सेमिनार, गोष्ठी, बैठक, सांस्कृतिक, धार्मिक, सौन्दर्यपान, पदयात्रा, उच्चस्थानका दौडहरू, खेलकुद, अवलोकन, अनुसन्धान, अभ्यास आदि जस्ता क्षेत्रको समानुपातिक विकास गर्नु पनि जरुरी छ ।  जसरी हिमाञ्चल, उत्तराखण्डमा पर्यटन पूर्वाधारको विकास गरिएको छ सोहीअनुरूप नेपालले पनि विश्वस्तरका पर्यटकीय पूर्वाधारहरूको विकास गर्नुपर्छ । भारतबाट आउने पर्यटकको नेपाल आउने यात्रा र बसाइ सुरक्षित र सहज हुने वातावरण सृजना गरिनुपर्छ । विशेष गरी नेपालका होटेलहरूमा हुने होहल्ला झैझगडा जस्ता अमर्यादित क्रियाकलाप नियन्त्रण गर्ने संयन्त्रको विकास गरिनुपर्छ । होटेलमा बस्दा दर्ताको प्रक्रियामा रहेको खुकुलोपना, लापरबाही र विनापरिचयपत्र, छद्म परिचयपत्रका आधारमा कोठा उपलब्ध गराउने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।  यदि साँच्चै भारतीय पर्यटक भित्त्याउने हो भने भारतीय गाडीलाई निर्बाध र नि:शुल्क रूपमा नेपाल प्रवेश गर्ने र आवागमन गर्ने सुविधा दिनुपर्छ ताकि भारतीय पर्यटक आफ्ना गाडीमा सुरक्षित र सुविधाजनक रूपमा नेपालमा घुमफिर गर्न सकून् । नेपालका हिलस्टेशनहरूबाट भारतका नजिकका बसस्टेशनसम्म नियमित बससेवा सञ्चालन हुनु पनि आवश्यक छ ताकि नयाँ दिल्लीका पर्यटक बस चढेर शिमला गएझैं पटनाका पर्यटक नियमित बस चढेर धनकुटाका हिलस्टेशनहरूसम्म आउन सकून् ।  यसै गरी भारतीय पर्यटकलाई आकस्मिक रूपमा आइपर्ने घटनाहरूबाट सुरक्षाका लागि आकस्मिक सेवाको प्रत्याभूति गरिनु पनि आवश्यक छ । हिलस्टेशनहरू चौबीसै घण्टा खुला रहने गरी सुरक्षाको प्रत्याभूति हुनु पनि त्यत्तिकै जरुरी छ । भारतका सञ्चारमाध्यमहरूमा नेपालका हिलस्टेशनहरूका बारेमा पर्याप्त प्रचारप्रसार गर्न सरकार र निजीक्षेत्रका तर्फबाट संयुक्त पहल हुनु पनि त्यत्तिकै आवश्यक छ । यसै गरी भारतीय पर्यटक किनमेलका पनि सौखिन हुने भएकाले हिलस्टेशनमा गुणस्तरीय सुपरमार्केटहरूको स्थापना गर्नु पनि जरुरी छ ।  सबैभन्दा महत्त्वपूर्ण विषय भारतीय पर्यटकको नेपाल बसाइ अवधि कसरी लम्ब्याउने भन्ने विषयमा पनि उत्तिकै मेहनत गर्नु आवश्यक छ । वर्तमान एक विन्दु हिलस्टेशनका कारण एक रातभन्दा बढी पर्यटक राख्न सक्ने अवस्था छैन । त्यसैले केन्द्रीय हिलस्टेशन र परिवृत्तमा रहेका हिलस्टेशनहरूलाई विविध प्रयोजनका लागि विकास गर्दै पर्यटकको बसाइ अवधिमा सुधार ल्याउन जरुरी छ । एउटा हिलस्टेशनलाई अन्य हिलस्ेटशनसँग जोड्ने गरी विविधता कायम गर्न कृषि, सांस्कृतिक विशिष्टता, साहसिक पर्यटन, द्यूत पर्यटन, योग ध्यान पर्यटन, जलयात्रा पर्यटन, सौन्दर्यपान पर्यटन, सेमिनार पर्यटनका रूपमा वरिपरिका डाँडा, थुम्काहरूलाई विकास गर्नु जरुरी छ । यसो गर्न सकेको खण्डमा नेपालमा वार्षिक करोडको हाराहारीमा सहजै रूपमा पर्यटन भित्त्याउन सकिन्छ ।  लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । 

सम्बन्धित सामग्री

पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता

रामपुर (पाल्पा), २६ माघ । कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो, पाल्पाको पर्यटकीय गन्तव्य रामपुुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो । विकास […]

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

घान्द्रुक जाने पर्यटकको बसाइ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रीय पदमार्ग निर्माण गरेका छन् । पदमार्ग ४ किलोमिटर लामो रहेको छ ।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण

पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ। आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ। सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो । २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ। तर पर्यटकले गर्ने

पर्यटकको बसाइ बढाउन सुुझाव

सौराहा, असोज १ । कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन् । उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने अनुमति दिएको छैन । पर्यटकीय होटल व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका […]

लम्बियो पर्यटकको बसाइ अवधि

काठमाडौं । सन् २०२० मा नेपालमा आउने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको भए पनि पर्यटकको बसाइ अवधि भने लम्बिएको छ । सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार संख्यामा खुम्चिए पनि उनीहरूको बसाइ अवधि भने सन् २०१९ को भन्दा १९ प्रतिशतले वृद्धि भएको छ । नेपालमा पर्यटकको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ । २०२० मा भने १९ प्रतिशतले वृद्धि भई १५ दशमलव १ दिन पुगेको छ । नेपाल पर्यटन तथ्यांक–२०२० का अनुुसार नेपालमा पहिलोपटक पर्यटकको बसाइ १५ दिन पुगेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार नेपाल पर्यटन तथ्यांक–२०२० सार्वजनिक गरेको छ । सोही तथ्यांकअनुसार पर्यटकको बसाइ अवधि बढेको देखिएको हो । नेपालमा सर्वाधिक पर्यटक आएको वर्ष २०१९ हो । यस वर्ष नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । उल्लेख्य मात्रामा पर्यटक आए पनि बसाइ भने साविककै वर्षहरूमा जस्तै औसतमा १२ दिन नै थियो । तर, २०२० मा कोरोनाका कारण संख्या घटे पनि पर्यटकको बसाइ अवधि भने बढेको छ । कोरोना भाइरसका कारण २०२० मा पर्यटकको बसाइ अवधि बढेको हुन सक्ने मन्त्रालयको अनुमान छ । उक्त वर्ष पर्यटनका धेरै गतिविधि खुला नगरिएको र कोरोना भाइरस नियन्त्रणका लागि बन्दाबन्दी गरिएको थियो । तर, नेपालमा पदयात्रा र पर्वतारोहणकै लागि मात्रै यस वर्ष पर्यटक आएकाले बसाइ अवधि लम्बिन पुगेको व्यवसायीहरू बताउँछन् । सामान्य अवस्थामा पनि पदयात्रा र पर्वतारोहणको उद्देश्यले आउने पर्यटकको बसाइ अवधि अन्यको तुलनामा बढी हुने गरेको छ । होटेल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाह २०२० मा नेपालमा जति विदेशीहरू आए उनीहरू पदयात्रा र पर्वतारोहणका लागि मात्रै आएकाले बसाइ अवधि लम्बिएको तर्क गर्छन् । ‘कतार, बराइनको राजकुमारहरू आउँदा पनि लामो समय बसेका थिए,’ उनले भने, ‘यसरी पर्यटकहरू पदयात्रा र पर्वतारोहणमा आउँदा बसाइ अवधि लम्बिएको हो ।’ २०२० मा अन्य पर्यटकीय क्रियाकलापहरूका लागि नेपाल आउन रोकिए पनि पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले भने विदेशी पर्यटकहरू आएका थिए । अहिलेको बसाइ अवधिले आगामी दिनमा पनि यत्ति नै लामो अवधि बस्छन् भन्ने यकिन नहुने उनको तर्क छ । नेपालमा खोपको व्यवस्था नहुँदा पर्यटक आउने वा बोलाउने विषयमा अन्योल नै देखिएको हुँदा आगामी दिनमा यो अवधि यत्तिकै रहन्छ वा घट्छ, भन्ने विषय निश्चित नभएको व्यवसायीहरूको भनाइ छ । तथ्यांकअनुसार सन् २०२० मा नेपाल भ्रमण तथा घुम्न आउने पर्यटकको उद्देश्यमा पनि परिवर्तन देखिएको छैन । पदयात्रा, पर्वतारोहण, धार्मिक, बिदा मनाउनेलगायत उद्देश्यले विदेशी पर्यटक नेपाल आउने गर्छन् । त्यसमध्ये यस वर्ष नेपालमा आउने विदेशी पर्यटकमध्ये ६० दशमलव ५ प्रतिशत बिदा मनाउन, १२ दशमलव ४ प्रतिशत साहसी पर्यटन अर्थात् पर्वतारोहण र पदयात्रा गर्न र १५ दशमलव ६ प्रतिशत धार्मिक स्थलको दर्शन गर्न र ११ दशमल ५ प्रतिशत अन्य कार्यका लागि आउने गरेका छन् ।

पर्यटकको बसाइ बढाउन आध्यात्मिक गतिविधि

बुद्धको जन्मस्थल लुम्बिनी र वरपरका क्षेत्रमा आउने पर्यटकको बसाइ अवधि बढाउन आध्यात्मिक गतिविधि नियमित रूपमा गर्नुपर्नेमा सरोकारवालालाले जोड दिएका छन् ।