काठमाडौं (अस) । एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर ल्याएको छ । कम्पनीले आफ्नो मोबाइल फोन सेवाका ग्राहकका लागि ‘न्यू इयर कम्बो अफर’ र ‘रिचार्ज अफर’ ल्याएको हो । न्यू इयर कम्बो अफर अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस, ननस्टप अन नेट भ्वाइस सेवा लगायत फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले रिचार्ज अफर अन्तर्गत रू. ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब सोसल मिडिया प्याक पाउन सक्ने बताइएको छ । यस्तै कम्बो अफर अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक करसहित रू. ९६ मा सुचारु गर्न सकिनेछ । सो प्याकमा बण्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न १०० मिनेट अल नेट टक टाइम ग्राहकले पाउन सक्नेछन् ।
त्यसैगरी रू. १६८ मा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सातदिने प्याक रू. १६८ मा सुचारु गर्न सकिनेछ । कम्पनीका अनुसार २८ दिनको प्याक अन्तर्गत रू. २९८ मा २ दशमलव ५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइम पाइनेछ । सो प्याक सुचारु गर्न एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गर्नुपर्ने बताइएको छ । कम्बो प्याक अन्तर्गत नै प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिनको अन्य दुई प्याक ल्याइएको कम्पनीले बताएको छ ।