तथ्यांकोवाच : ३५ लाख घरपरिवारमा मात्र विद्युतीय पंखा जडान

काठमाडौं । नेपालको जनगणना २०७८ सालको पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारले आधुनिक सरसुविधाका साधनमा विद्युतीय पंखाको प्रयोगको अवस्था कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ५३ दशमलव शून्य ८ प्रतिशत घरपरिवारमा विद्युतीय पंखा जडान गरेको पाइन्छ । उक्त सुविधाको प्रयोग गर्नेमा नगरपालिका र गाउँपालिकामा ठूलो विषमता देखिएको छ । नगरपालिकामा विद्युतीय पंखा जडान भएका घरपरिवारको हिस्सा ६१ दशमलव ९५ प्रतिशत रहेको छ भने यो हिस्सा  गाउँपालिकामा ३४ दशमलव ९१ प्रतिशत रहेको छ । हिमालमा विद्युतीय पंखा जडान भएको घरपरिवारको हिस्सा ४ दशमलव ४१ प्रतिशत रहेको छ भने यो हिस्सा पहाड र तराईमा क्रमश: २९ दशमलव ४७ प्रतिशत र ८० दशमलव १३ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा विद्युतीय पंखा जडान भएका घरपरिवारको हिस्सा १२ दशमलव ३७ प्रतिशत रहेको छ भने सबैभन्दा बढी  हिस्सा मधेश प्रदेशमा ७८ दशमलव ८५ प्रतिशत रहेको छ ।