ब्वाँसोको नाममा मिथ्या गुहार : वर्तमान बैंकिङ र अर्थ–राजनीतिक परिदृश्य

ईशापूर्व ६ सय २० वर्ष पहिले प्राचीन ग्रीकमा प्रसिद्धि कमाएका ‘इशप’का अनगिन्ती दन्त्य कथामध्ये एउटा कथा प्रसिद्ध छ– ‘ब्वाँसो आयो भनी मिथ्या गुहार गर्ने केटो’ । अंग्रेजीमा यो कथा ‘अ बोय हू क्राइड वूल्फ’ को नाममा पेरी इन्डेक्समा २१० नम्बरमा सूचीकृत छ । यद्यपि विभिन्न कालखण्डमा यो कथालाई विभिन्न लेखकले भिन्नभिन्न शीर्षकमा प्रस्तुत गरेका छन् तापनि यस आलेखको प्रयोजनका लागि माथि उल्लिखित शीर्षक नै प्रयोग गरिएको छ ।  कथाअनुसार एउटा भेडा गोठालो केटो गाउँलेहरूलाई मूर्ख बनाउने सोचले ब्वाँसो नआएको बेलामा पनि ‘गुहार गुहार, ब्वाँसो आएर मेरा भेडाहरू खान लग्यो’ भन्दै चिच्याउने गर्दथ्यो । साँच्चै ब्वाँसोले भेडा खान लागेछ भन्ने लागेर गाउँलेहरू दुई चारपटक मद्दत गर्न पनि गएछन् । तर, जति पटक गाउँलेहरू उसको मिथ्या गुहार सुनेर मद्दतका लागि गए, त्यति नै पटक त्यो केटो भने उनीहरूलाई मूर्ख बनाउन आपूm सफल भएको भन्दै तिनै गाउँलेलाई गिज्याउने गर्दोरहेछ । यस्तो धेरैपटक भएपछि स्वाभाविक रूपमा गाउँलेहरूले उसको गुहारमा विश्वास गर्न छोडेछन् । तर, एक दिन साँच्चै त्यो केटोका भेडा खान भनेर ब्वाँसो आएछ र केटोले पनि पहिलाजस्तै ‘गुहार गुहार, ब्वाँसो आएर मेरा भेडाहरू खान लाग्यो’ भन्दै चिच्याउन थालेछ । धेरैपटक मिथ्या गुहारको शिकार भएका गाउँलेहरूले यो ‘सच्चा गुहार’ लाई विश्वास गरेनन् र उनीहरू सहयोग नगरी चुपचाप बसेछन् । गाउँलेहरूको मद्दत नपाएपछि ब्वाँसोले केटोका सबै भेडा खाइदिन्छ र कथा समाप्त हुन्छ । यदि कसैले बारम्बार मिथ्या सूचना दिने गर्छ भने उसले दिने सही सूचना पनि कसैले पत्याउँदैनन् भन्ने साधारण शिक्षा यो कथाले दिएको छ । तर, यही साधारण शिक्षालाई अहिलेको राजनीतिक, आर्थिक एवं बैंकिङ परिवेशसँग जोडेर व्याख्या गर्न सकिन्छ ।  यसै कथालाई आधार मानेर सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कार्य सम्पादन प्रणालीलाई सन्दर्भमा राखेर हंगेरियाली अर्थशास्त्री एवं बैंक अफ इन्टरनेशनल सेटलमेन्टका वरिष्ठ अर्थशास्त्री इलोड तकासले ‘ब्वाँसो–गुहार : सम्पत्ति शुद्धीकरणसम्बन्धी आचरणको अर्थशास्त्र’ शीर्षकमा एशियाली विकास बैंकद्वारा प्रकाशित एक कार्यपत्रमा यो ऐतिहासिक दन्त्य कथालाई सामयिकीकरण गरेका छन् ।    उनका अनुसार बैंकिङ क्षेत्र र वित्तीय अपराधसँग सम्बद्ध विषयलाई यससँग जोड्ने हो भने विशेष गरी वित्तीय जानकारी एकाइलाई शंकास्पद कारोबारसम्बन्धी सूचना दिने क्रममा यदि बैंकहरूले अधिक मात्रामा कम महत्त्वका कारोबारहरूसँग सम्बद्ध सूचनाहरू समावेश गर्ने अभ्यास गरेका छन् भने वित्तीय जानकारी एकाइले आम रूपमा प्राप्त हुने यस्ता शंकास्पद सूचनाहरूलाई आवश्यक गम्भीरताका साथ अनुसन्धान नगर्न सक्ने सम्भावना रहन्छ । ब्वाँसोसम्बन्धी मिथ्या गुहारले साँच्चैको ब्वाँसो आएको घटनालाई गाउँलेहरूले बेवास्ता गरेझैं, वित्तीय जानकारी एकाइले पनि अधिकांश मिथ्या शंकास्पद सूचना दिने संस्थाबाट प्राप्त हुने अधिक महत्त्वको जानकारीलाई समेत निगरानी र अनुसन्धानको दायरामा नराख्ने जोखिम रहन्छ । यो कुरा पुष्टि गर्न उनले अमेरिकाको वित्तीय जानकारी एकाइ ‘फिनसेन’ ले प्राप्त गरेका शंकास्पद कारोबारसँग सम्बद्ध विवरण र त्यसको आधारमा दायर भएका मुद्दाहरूको संख्यालाई उल्लेख गरेका छन् । अमेरिकामा पनि यूएसएप्याट्रियोट एक्टको कार्यान्वयनपछि शंकास्पद कारोबार एवं गतिविधिसम्बन्धी सूचना सम्बन्धमा सूचक संस्थाहरूलाई ठूलै मात्रामा जरीवानाको व्यवस्था गरियो । जरीवाना रकम अत्यधिक मात्रामा वृद्धि गरिएको सन्दर्भमा त्यहाँको नियामक ‘फिनसेन’ मा पनि गत १० वर्षको अवधिमा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदनको संख्यामा त उल्लेख्य वृद्धि भयो तर जुन अनुपातमा शंकास्पद कारोबारको विवरण बढेको देखियो, त्योभन्दा बढी अनुपातमा चलाइएका मुद्दाको संख्यामा ह्रास आएको थियो ।  यसरी बैंकहरूको हकमा यस्तो कम प्रभावी शंकास्पद कारोबार वा गतिविधिसम्बन्धी सूचनाको अत्यधिक प्रवाह हुनुमा नियामकले उनीहरूलाई लगाउने उच्च राशिको हर्जानाको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइन्छ । यदि यस्तै प्रकारका जरीवाना कायम हुने हो भने एक दिन बैंकहरूले आफ्ना सम्पूर्ण कारोबारलाई शंकास्पद भनी रिपोर्टिङ गर्नुपर्ने अवस्था सृजना हुन आउने र त्यसले शंकास्पद कारोबारसम्बन्धी अवधारणामाथि नै कुठाराघात हुन सक्ने आशंका उनले उक्त कार्यपत्रमा व्यक्त गरेका छन् । अहिले नेपालमा पनि बैंकहरूले सूचित गरेको शंकास्पद कारोबार वा गतिविधिसम्बन्धी विवरणको तुलनामा दायर भएका मुद्दाहरूको संख्या हेर्दा कतिपय सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले पनि ‘ब्वाँसोको नाममा मिथ्या गुहार’ नै गरेको देखिन आउँछ । नेपालमा पनि नियामकले जरीवानाको प्रावधान कार्यान्वयन गरेपछि यस्तो ‘गुहार’ बढेको देखिन्छ ।  जोखिममा आधारित रहेर शंकास्पद कारोबारसम्बन्धी सूचना दिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको खण्डमा यस प्रकारको ‘मिथ्या गुहार’बाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ ।  बैंकिङ क्षेत्रमा मात्र होइन अर्थ–राजनीतिक क्षेत्रमा पनि अहिले यस्तै ब्वाँसोसम्बन्धी मिथ्या गुहारका स्वरहरू सुनिन थालेका छन् । राजनीतिक क्षेत्रमा २०४६ सालदेखि नै शिशु प्रजातन्त्रमाथि मात्र होइन, देशकै स्वाधीनता र सार्वभौमसत्तामा समेत संकट आएको भन्दै नेताहरूले बारम्बार मिथ्या गुहार माग्दै आएको जनताले सुनिरहेका छन् । यस्ता मिथ्या प्रलापका कारण ‘गुहार’ मागिरहेका नेताहरूको विश्वसनीयता यति क्षीण भइसकेको छ कि कुनै दिन देशको अस्तित्वमाथि साँच्चै संकट आइलाग्यो र त्यो कुरा तिनले भने पनि त्यसलाई जनताले विश्वास नगर्ने जोखिम बढेको कुरा सहजै अनुमान गर्न सकिन्छ ।  मिथ्या गुहारसम्बन्धी यस्तै जोखिम इमेल आदि माध्यमबाट गरिने व्यक्तिगत पत्राचारको हकमा वा कुराकानीमा पनि लागू हुन्छ । जुनसुकै महत्त्वको विषयलाई पनि इमेलमार्पmत वा अन्य माध्यमबाट अत्यधिक मात्रामा संवाद सन्देश दिने प्रवृत्ति रह्यो भने सन्देश प्राप्त गर्ने व्यक्ति वा निकायले त्यस्ता सन्देशहरूप्रति पर्याप्त ध्यान दिने गर्दैनन् । यस्तो अवस्थामा धेरै अत्यधिक सन्देश पठाउने व्यक्तिले पठाएका एकदमै महत्त्वपूर्ण सन्देशहरू पनि बेवास्तामा पर्ने प्रबल सम्भावना रहन्छ ।  त्यस्तै आफू अर्थमन्त्री भएको दिनसम्म ठीकठाक रहेको अर्थतन्त्र अर्थमन्त्रीबाट निवृत्त भएको भोलिपल्टै संकटग्रस्त छ भन्नेदेखि लिएर पदमा रहँदा सबै ठीक बताउने र पदबाट निवृत्त भएको भोलिपल्टै खराब देख्ने मिथ्या आलापले पनि आर्थिक संकटको सत्यापनमाथि नै शंका उत्पन्न गरेको छ ।  यी सब कारणले गर्दा बैंकिङ, आर्थिक र राजनीतिकदेखि व्यक्तिगत संचारमा समेत व्याप्त ‘ब्वाँसोसम्बन्धी मिथ्या गुहार’ माग्ने आम प्रवृत्तिको अन्त्य हुनु जरुरी देखिन्छ । अन्यथा मिथ्या प्रलाप र गुहारले कुनै दिन समग्र राष्ट्रलाई नै साँच्चै ब्वाँसोले आक्रमण गरेको खण्डमा इशपका कथामा गाउँलेहरूले बेवस्ता गरेझैं देश बचाउने मामलामा जनताले पनि बेवास्ता नगर्लान् भन्न सकिँदैन ।  लेखक बैंकर हुन् ।