तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।
यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।