चाडपर्वको समयमा हुन सक्ने अपराधमा चनाखो हुन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दशैँ सहितका चाडपर्वको समयमा हुन सक्ने अपराधका घटना न्यूनिकरणमा चनाखो बन्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भिडिओ कन्फ्रेन्समार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई चनाखो भई जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।उनले चाडपर्वको समयमा जुवातास तथा मादक पदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाउन र नागरिकलाई उत्साहका साथ चाडपर्व मनाउने वातावरण तयार गर्न सुरक्षा नीति बनाएरै काम गर्नुपर्ने बताएका हुन् । उनले सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामूहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न र प्रहरी हेल्प डेस्कलाई क्रियाशील बनाउन पनि निर्देशन दिएका छन् ।प्रहरी महानिरीक्षक थापाले सीमा नाकामा हुने चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर बन्न निर्देशनका छन् ।