माघ २४, बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपलिकामा आधारभूत अस्पतालको भवन निर्माण शुरु भएको छ ।
केन्द्र सरकारको सहयोगमा निसीखोला–४ झिम्पामा पालिका स्तरीय आधारभूत अस्पतालको भवन निर्माण शुरु भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आगामी वर्ष २०८० पुस महीनासम्म भवन निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाएको अध्यक्ष पौडेलले बताए ।
‘गाउँपालिकाले १० करोड ९४ लाखको स्टिमेट गरिएकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ,’ अध्यक्ष पौडेलले भने ‘अस्पतालको सम्झौताको काम पूरा भएर निर्माण शुरु भएको छ, आगामी २०८० पुससम्म सम्पन्न हुने गरी सम्झौता भएको छ ।’
अस्पतालको भवन निर्माणको एक वर्ष अगाडी नै शिलान्यास गरिए पनि यस वर्ष ठेक्का सम्झौता भएर निर्माण शुरु भएको हो । ‘भवन निर्माणको लागि स्थानीयले एक वर्ष अगाडी आठ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराउनु भएको थियो,’ गाउँपालिका अध्यक्ष पौडेलले भने ‘जग्गा प्राप्तिपछि एक वर्ष अगाडी नै शिलान्यास गरिएको हो । ठेक्का सम्झौतामा केही ढिलाई भएको कारण अहिले सबै प्रक्रिया पूरा गरेर निर्माण शुरु गरिएको छ ।’
अस्पताल १० शय्याको निर्माण गरिने गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । ‘दुईतले भवनमा १० शय्याको अस्पताल बन्ने छ,’ सूचना अधिकारी गौतमले भने ‘अस्पताल भवन निर्माणपछि विशेषज्ञ सेवा गाउँपालिकाबाटै उपलब्ध गराइन्छ ।’
अस्पताल निर्माण सम्पन्न भएपछि गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । वर्षौदेखि यहाँका नागरिकहरु सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माण पश्चात गाउँठाउँबाटै सहज सेवा लिन सक्ने अध्यक्ष पौडेलले बताए ।
‘निसीखोलाका दूर दराजमा रहेका नागरिकहरुले वर्षौदेखि सहज रुपमा स्वास्थ्य सेवा लिन पाइरहेका छैनन्, सामान्य स्वास्थ्य सेवा पाउन नसकेका नागरिकले यहाँ अस्पताल निर्माण पश्चात विशेषज्ञ सेवा पाउने छन् भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष पौडेलले भने ‘सहज स्वास्थ्य सेवा प्रदानका लागि हामी जनप्रतिनिधि भएर आएदेखि निरन्तर खटिएका छौँ, केही उपलब्धीहरु हासिल त गरेका छौँ, केही विस्तारै हासिल गर्ने दिशामा छौँ ।’