काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।
त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।” पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताउनुभयो ।
नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उहाँले जानकारी दिनुभयो । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उहाँले भन्नुभयो, “एक किमी कालोपत्र गर्दा रु एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पु¥याएर छाडिनेछ ।”