नविल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी

काठमाडौं (अस) । महिला र युवामा क्यूआर कोड र डिजिटल उत्पादन प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानका अध्यक्ष रेनु थापाले सम्झौतामा हस्ताक्षर गरे । वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानमार्फत महिलालाई पर्यटन उद्यम सञ्चालन गर्न सघाउ पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उनले सम्झौताबाट महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकासमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा टेवानका अध्यक्ष थापाले नबिल बैंकसँग महिला व्यवसायीको प्रवर्द्धनमा हातेमालो गरिएको जानकारी दिइन् । केही महिला उद्यमीलाई नबिल क्यूआर कोड हस्तान्तरण गरिएको कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत, दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख कृष्ण सुवेदी, बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका उपस्थित थिए । टेवान पर्यटन व्यवसायमा संलग्न महिला उद्यमीलाई समूहबद्ध गर्ने र पर्यटन विकासका लागि लैंगिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने गैरनाफामूलक सामाजिक संस्था हो, जसमा कास्कीका विभिन्न पर्यटन क्षेत्रका २ सयभन्दा बढी महिला उद्यमी आबद्ध छन्  । बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड  महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन परियोजनाअन्तर्गत बैंकले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।