मुर्राको हँसीमजाक

प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघि भएको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दिएको मुर्रा राँगोबारे अनेकथरी चर्चा भए । मुर्रा राँगोलाई नेपालमा ल्याउँदा हुने लाभ/ हानिभन्दा पनि यसलाई राजनीतिसँग बढी जोडियो । तर, यतिबेला मुर्रा राँगोलाई नेपाल ल्याउँदा हँसीमजाक नभई यस्ता जातका पशु वा उन्नतबालीको कत्तिको आवश्यकता हुन्छ भन्नेबारे छलफल केन्द्रित हुनुपर्छ । नश्ल सुधारका लागि भारतबाट ल्याइने मुर्रा जातका राँगाबाट कृत्रिम गर्भाधान गराई बढी दूध दिने भैंसी जन्माइनेछ । यस्तै खालको कार्यक्रम गाईमा पनि गरिएको छ । बढी दूधकै लागि होलिस्टाइन गाई पनि आयात गरिएको छ भने बोयर जातको बाख्रापालन पनि गरिएको छ । यसरी नस्ल सुधारबाट दूध तथा मासुको उत्पादन बढाइएको छ । यस्तो कार्यक्रम सकारात्मक छ ।  तर, नेपालले पशु नश्ल सुधार कार्यक्रम ल्याउँदै गर्दा यस्ता पशुबाट साँच्चिकै लाभ भइरहेको छ त ? उन्नत जातका पशु वा बीउबिजन नेपालमा आवश्यक छ तर त्यो भन्दा महत्त्वपूर्ण कुरा उन्नत जातलाई नेपालमा भित्त्याइसकेपछि त्यसमा लगानी कति पर्छ र नाफा कति हुन्छ भन्ने कुरा हेर्नुपर्छ । स्थानीय पशुपक्षीको तुलनामा उन्नत जातका पशुपक्षीले बढी प्रतिफल दिएको त्यतिबेला मानिन्छ, जतिबेला स्थानीयको तुलनामा यस्ता पशुमा गरिएको लगानी थोरै हुन्छ । यतिखेर हामीलाई कम लागतमा बढी नाफा दिने उन्नत जातको पशु चाहिएको हो । परम्परागत पशुपालनमा घाँस खुवाइन्थ्यो वा चराइन्थ्यो । यी नि:शुल्क प्रकृतिबाट प्राप्त हुन्थे । त्यसो हुँदा कम दूध दिए पनि लागत कम पथ्र्यो । अहिले उन्नत जातका पशु पालनमा दाना खुवाउनुपर्ने हुन्छ । दानाकै लागि पैसा विदेशिएको समेत पाइन्छ । कुनै पनि नयाँ लगानीमा प्रतिफल र लागतको तुलना गरिन्छ । त्यो लागत आर्थिक मात्र नभएर वातावरणीय लागतलगायत अन्य लागत पनि हुन सक्छ । त्यस हिसाबले आयातित वर्णसंकर पशुपालनले नेपालको समग्र कृषि प्रणाली र नेपालको परम्परागत प्रविधिको संरक्षणमा कत्तिको काम गरेको छ त्यसबारे पनि विचार पुर्‍याउन आवश्यक छ । नेपालकै रैथाने पशुलाई रैथानै पशुबाट वर्णसंकर निकाल्दा बढी लाभ हुन्छ कि भन्नेमा खासै अध्ययन भएको छैन । त्यसैले यतातिर पनि ध्यान दिने हो कि ?