बैंकिङ क्षेत्रमा तरलता संकट चुलिएका बेला घरजग्गा कारोबार बढेपछि यसको लगानी स्रोत के हो भन्ने शंका उब्जिएको छ । सबै खाले आर्थिक सूचक निराशाजनक देखिएको अवस्थामा घरजग्गा कारोबारको बढोत्तरीले भने आशंका उब्जाएको छ । लगानीकर्ताले बैंकबाट अत्यावश्यक ऋणसमेत पाउन नसकिरहेका बेला घरजग्गा कारोबार बढ्नुले कहीँ न कहीँ यसमा कालो धन प्रयोग भएको हो कि भन्ने आशंकालाई मलजल गरेको देखिन्छ । यतिबेला शेयरबजार र रेमिट्यान्स (विप्रेषण) आप्रवाह निरन्तर ओरालो लागिरहेको छ । अधिकांश आर्थिक सूचक निराशाजनक देखिए घरजग्गा कारोबार उत्साहजनक देखिएपछि यस क्षेत्रमा भएको लगानीको स्रोतबारे शंका उब्जिनु स्वाभाविकै हो ।
नेपालका व्यापारीले कमाएको पैसा विदेशमा लगानी गर्न नपाउने सरकारी नियम छ । स्वदेशको कमाइलाई सुरक्षित गर्ने माध्यम कतै घरजग्गा कारोबार त भएको छैन ? यसतर्फ पनि सरकारी ध्यान जान आवश्यक छ ।
विगत वर्षमा दशैंतिहारपछिको समय घरजग्गा कारोबार ह्वात्तै बढ्ने गरेकामा यो वर्ष बैंकले तरलता संकटकै कारण ऋण दिन नसक्ने भएपछि कारोबार प्रभावित हुने अनुमान सबैतिर थियो । तर, मङ्सिरमा भएको घरजग्गा किनबेचको तथ्यांकले सबै अनुमान गलत सावित गरिदिएको छ । घरजग्गा कारोबारको मूल स्रोत कताबाट आइरहेको छ भन्ने विषय सरकारी संयन्त्रले खोजबिन गर्नुपर्ने हो । तर, अहिलेसम्म सरकारीस्तर खासगरी अर्थ मन्त्रालयबाट यसबारे कुनै सत्यतथ्य बाहिर आएको छैन । यसले पनि घरजग्गा कारोबारमा कालो धन प्रयोग भएको त छैन भन्ने प्रश्नलाई शंकाको घेराभित्र पुर्याएको छ ।
नेपालमा बैंकिङ प्रणालीभन्दा बाहिर रहेको ठूलो रकम घरजग्गा कारोबारमै हालिएको कि भन्ने अनुमानलाई थप टेवा दिएको देखिन्छ । यो वर्ष मङ्सिरमा ७० हजार घरजग्गा किनबेच हुँदा ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको सरकारी तथ्यांकले देखाएको छ । गतवर्ष मङ्सिरमा ६५ हजार घरजग्गा किनबेच हुँदा साढे ५ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको सरकारी आँकडा छ । संख्याका हिसाबले थोरै मात्र बढी भए पनि गतवर्ष र यो वर्षको अवस्थामा बेमेल रहेको देखिन्छ । गतवर्ष मङ्सिरमा बैंकिङ क्षेत्रमा तरलता अभाव थिएन भने यो वर्ष अति आवश्यक कामका लागि समेत बैंकबाट कर्जा पाउन नसक्ने अवस्था छ ।
बैंकहरूले आवश्यक ऋण उपलब्ध गराउन नसके पनि घरजग्गातिर लगानी कताबाट आइरहेको छ, यसबारे सरकारी संयन्त्रले अहिलेसम्म बोलेको देखिँदैन । यसै वर्ष पनि कात्तिकमा ५० हजार घरजग्गा किनबेच हुँदा साढे ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । तर, मङ्सिरमा २० हजार कारोबार संख्या बढ्दा करीब डेढ अर्ब रुपैयाँ राजस्व बढी उठेको देखिन्छ । आर्थिक गतिविधि संकुचन भइरहेका बेला घरजग्गा कारोबार उकासिनुमा कालो धनकै प्रयोग हो कि भन्ने पूर्वानुमानलाई बलशाली बनाएको देखिन्छ ।
बैंकिङ प्रणालीभन्दा बाहिर रहेको ठूलो रकम यही क्षेत्रमै घुमिरहेका कारण अर्थतन्त्र संकटोन्मुख हुँदा पनि घरजग्गा कारोबारमा भइरहेको बढोत्तरीले प्रश्न गर्नेलाई ठाउँ दिएको छ । अचम्म त के भने राष्ट्र बैंकले बजारमा पठाएको रकममध्ये बैंकिङ च्यानलमा ३० प्रतिशतभन्दा बढी रकम नआएको देखिएको छ । १० प्रतिशत रकम व्यक्तिको हातमै वा गोजीमा रहेको मानिए पनि ६० प्रतिशत गैरबैंकिङ क्षेत्रमै रहेको स्वयं बैंकरहरू बताइरहेका छन् । यसरी गैरबैंकिङ च्यानलमा पैसा घुम्ने एउटा क्षेत्र घरजग्गा हुन सक्ने कतिपय अर्थतन्त्रका जानकारको अनुमान छ ।
हुन त नेपालमा घरजग्गाको वैज्ञानिक मूल्य निर्धारण हुन सकेको पाइँदैन । बैंकले ऋण प्रवाह गर्न एउटा मूल्यमा मूल्यांकन गरेका हुन्छन् भने मालपोत कार्यालयले किनबेच हुँदा उठाउने राजस्व प्रयोजनका लागि अर्को मूल्य निर्धारण गरेको हुन्छ । कारोबारमा भने न्यूनतम मूल्यांकनभन्दा १०औं गुणा बढी मूल्यमा घरजग्गा किनबेच हुँदा ठूलो रकम लेनदेन हुने घरजग्गा क्षेत्रका जानकारको दाबी हुने गरेको छ ।
नेपालका व्यापारीले कमाएको पैसा विदेशमा लगानी गर्न नपाउने सरकारी नियम छ । स्वदेशको कमाइलाई सुरक्षित गर्ने माध्यम कतै घरजग्गा कारोबार त भएको छैन ? यसतर्फ पनि सरकारी ध्यान जान आवश्यक छ । उद्योगी, व्यापारीले कर छली गरेर होस् वा राजनीतिक व्यक्ति र सरकारी कर्मचारीले भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा घरजग्गा कारोबारमा हालिएको त होइन ? आशंकालाई शंकारहित बनाउने काम सरकारकै हो ।