काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नपुगेका सायदै होलान् । कलेज भएको र मेला प्रदर्शन तथा विभिन्न कार्यक्रमा भइरहने स्थान हो यो । नेपाल पर्यटन बोर्डको कार्यालयसँगै रहेको ढकाल तन्दुरीमा खाजा नखाएका पनि कमै होलान् । शंकरदेव, आरआर, विश्वभाषा, नेपाल ल, बाल्मिकीलगायत क्याम्पसमा अध्ययन गरेका अधिकांश विद्यार्थी त्यहाँ पुगेकै हुनुपर्छ !
गोरखाका रामेश्वर ढकालले २३ वर्षदेखि एकै ठाउँमा व्यापार गरेका उनको होटलमा शुरूदेखि अहिलेसम्म एउटै स्वाद दिएको बताउँछन् । ‘२३ वर्षदेखि एउटै हातले बनाएको परिकार हो एउटै स्वाद त हुने भयो नि,’ उनले भने । गोरखाको बारपाकमा घर भएका उनी २०४६ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनको लागि काडमाडौं आएका थिए ।
जागिरसँगै अध्ययन गरेका उनलाई जागिरले यो शहरमा सहज भने भएन । परिवार थपिँदै गएपछि नयाँ व्यावसाय गर्ने सोच बनाएका उनलाई २०५७ सालमा पर्यटन बोर्डले खाली ठाउँ उपलब्ध गरायो । जहाँ छाप्रोजस्तै देखिने संरचना बनाए र चिया, नास्ता, रोटी र सेल बेच्न थाले । उनलाई पत्नी सरू पाण्डे ढकालले शुरूदेखि नै सघाउँदै आएकी छन् ।
धेरैजसो विद्यार्थी आन्दोलन र प्रदर्शन तथा मेला भइरहने यही स्थानमा उनले खाजा खुवाउँदा खुवाउँदै देशले धेरै आन्दोलन भोग्यो । व्यवस्था फेरिए, भृकुटीमण्डप वरपर धेरै संरचना पनि फेरिए । तर, उनको खानाको स्वाद भने फेरिएको छैन ।
उनले आफ्नै हातले खाना–खाजा खुवाएका व्यक्ति देशकै उच्च ओहोदामा पुगेका छन् । ‘जुनसुकै कार्यालयमा पसेपनि कम्तीमा १० जना त मैले खाना खाजा खुवाएकै मानिस कर्मचारी भेटिन्छन् । तपाई्र ‘ढकाल दाइ’ होइन भन्दै सोध्छन्,’ उनी भन्छन् ।
१३ रुपैयाँमा जेरीपुरी र तरकारी बेच्न शुरु शुरू गरेका उनले यस स्थानमा खाजा विक्री गर्दा एकबोरा मैदाको जम्मा ३०० रुपैयाँ थियो, अहिले प्रतिबोरा ४ हजार ५०० पुगेको छ । प्रतिमहीना ७२० रुपैयाँ भाडा दिने गरी व्यवसाय शुरू गरेको बताउने ढकालले अहिले मासिक भाडा ४८ हजार रुपैयाँ तिर्दै आएका छन् ।
उनले यही स्थानमा आधा जिन्दगी बिताएका छन् । यही स्थानमा गरेको व्यवसायबाट उनले बालाजुमा एउटा साढे २ तलाको घर पनि बनाएका थिए । २०७२ को भूकम्पले कामै नलाग्ने गरी भत्काइदियो । शून्यबाट उठेको उनको जिन्दगी भूकम्पले फेरि शून्यजस्तै बनाइदियो । क्षतविक्षत भएको घर भत्काउँदा ९ लाख रुपैयाँ खर्च भयो भूकम्पपीडितको रुपमा उनले सरकारबाट ३ लाख रुपैयाँ मात्रै पाए ।
उनका २ छोराहरू भने विदेशमा छन् । जेठो छोरा अमेरिका र कान्छो अष्ट्रेलियामा रहेको उनले बताए । भत्केको घर पनि उठिसकेको छ । तर, उनलाई त्यो छाप्रो छोडेर जान मनै छैन । दाल, रोटी, खाना, चिया, मःम, चाउमिनजस्ता खाजा विक्री गर्दै आएका उनलाई अधिकांश पुराना ग्राहकले भन्ने गर्छन्– स्वाद त उस्तै छ नि दाजु !