काठमाडौं । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । पछिल्लो साता कोरोनाका कारण मृत्यु हुनेको संख्या ≈वात्तै बढेको छ । पछिल्लो १ सातामा मात्रै कोरोनाबाट ७ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म कुल ४ हजार २५२ को कोरोना संक्रमणका कारण मृत्यु भएकोमा ३ लाख १६ हजार निको भएका छन् ।
निजी अस्पतालले बिरामी भर्ना लिन छाडे
कोभिडका गम्भीर बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजनको व्यवस्थापनका लागि मन्त्रालयले आप्mनो सिफारिशविना सरकारी, सामुदायिक र निजी अस्पताललाई अक्सिजन नदिन उद्योगहरूलाई परिपत्र गरेपछि अधिकांश निजी अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन् । अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै अधिकांश निजी अस्पतालले बिरामी नै लिन नसक्ने घोषणा गर्न थालेका हुन् । उपत्यकामा वयोधा, मेडिसिटी, नेपाल मेडिकल कलेज, ओम, हेल्पिङ ह्यान्डस्, भारतमैत्री अस्पताल, दीर्घायुलगायत अस्पताले विज्ञप्ति नै निकालेर नयाँ बिरामी लिन नसक्ने बताएका छन् भने अन्य अस्पतालले पनि नयाँ बिरामी लिन अस्वीकार गर्न थालेका छन् ।
अक्सिजनको अभाव हुन थालेपछि मन्त्रालयले १५ दिनभित्र सय बेडभन्दा बढी क्षमताका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र देशभरका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको जानकारी दिए ।
‘कम्तीमा १०० शय्या क्षमता भएका निजी अस्पताललाई १५ दिनभित्र प्लान्ट जोडेर त्यसको जानकारी मन्त्रालयलाई गराउन भनेका छौं,’ उनले भने ।