राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि थप ५० हजार रुपियाँ अनुदान वितरण गर्ने भएको छ । ‘भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि’अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई यो रकम वितरण गरिने प्राधिकरणले जनाएको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान उपलब्ध गराउने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।