‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

पर्यटन क्षेत्रका सरकारी तथा निजीक्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजीक्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवर्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरवलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।