काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक गत साताको भन्दा ५ दशमलव ७६ अंक घटेर १ हजार ८५२ दशमलव ७७ विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ८५८ दशमलव ५३ विन्दुमा रहेको थियो ।
यो साता पाँच कारोबार दिनमा बजार तीन दिन घटेको छ भने दुई दिन बढेको छ । पहिलो कारोबार दिन ७ दशमलव २९ अंक घटेको बजार दोस्रो दिन ३ दशमलव ४२ अंक र तेस्रो दिन १० दशमलव १० अंक घटेको हो । चौथो कारोबार दिन ३ दशमलव ३३ अंकले बढेको बजार पाँचौ दिन भने ११ दशमलव ७३ अंकले बढेको हो । पछिल्लो दुई दिन बजार निरन्तर बढे पनि त्यसअघिका सात कारोबार दिन बजार निरन्तर घटेको थियो ।
यो साता नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने बढेको छ । गत साता ७ अर्ब ६० करोड ६९ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता ७ अर्ब ६४ करोड ७१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो ।
कारोबार कित्ता भने १ करोड ४९ लाख ७ हजारभन्दा बढीले घटेको छ । गत साता २ करोड ६७ लाख ७२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ करोड ५२ लाख ७४ हजारभन्दा बढी मात्र धितोपत्र कारोबार भएको हो । औसतमा यो साता कारोबार रकम ८० लाख ५२ हजार रुपैयाँले बढेको छ भने औसत कारोबार कित्ता २ लाख ९९ हजारभन्दा कम भएको छ ।
गत साता औसतमा १ अर्ब ५२ करोड १३ लाख रुपैयाँभन्दा बढीको ५३ लाख ५४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १ अर्ब ५२ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ५० लाख ५४ हजारभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो ।
यो साता लगानीकर्ताले ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज ।
लगानीकर्ता बजारप्रति सकारात्मक बन्न नसक्दा बजारले गति लिन नसकेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र दोस्रो बजारमा नेपाल राष्ट्र बैंकको नीतिले बढी प्रभाव पार्ने गर्दछ । राष्ट्र बैंकले शुक्रवार चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने शेयर धितोकर्जाको जोखिम भारलाई घटाएर १२५ प्रतिशत कायम गरेको छ । ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितोकर्जाको भार राष्ट्र बैंकले १२५ कायम गरेको हो ।
हालको व्यवस्थामा ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितोकर्जामा जोखिम भार १५० प्रतिशत र ५० लाख रुपैयाँभन्दा कममा १०० प्रतिशत जोखिम भार रहेको छ । शेयर धितोकर्जाको सीमा खारेज गर्नुपर्ने माग गर्दै आएका लगानीकर्ताले सो विषयमा कुनै सम्बोधन नभएकोमा दुःख व्यक्त गर्दै जोखिम भार कम गरेकोमा भने खुसी व्यक्त गरेका छन् ।
शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत आवासीय घर कर्जाको सीमा वृद्धि, शेयर धितोकर्जा र घरकर्जा कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएकाले अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरेका छन् । लगानीकर्ताले स्थिर नीति माग राख्दै आएता पनि राजनीतिक प्रभावबाट लिइने नीतिगत नियम कानुनले सदैव अप्ठ्यारोमा पार्दै आएको फुल्लेलको तर्क रहेको छ ।
लामो समयदेखि निरास देखिएका लगानीकर्तालाई केही उत्साहित बनाउने खालको समीक्षा राष्ट्र बैंकले सार्वजनिक गरेको तर्क ब्रोकरहरूले गरेका छन् । राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाइ ७ प्रतिशत र नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ५ दशमलव ५ प्रतिशत कायम गरेको छ । यसले गर्दा आगामी दिनमा ब्याजदर घट्न गई बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास पनि ब्रोकरहरूले गरेका छन् ।
बीमा समूहबाहेक सबै समूहको परिसूचक घट्यो
यो साताको कारोबारमा बीमा समूहको परिसूचक मात्र बढेको छ भने बाँकी समूहको घटेको छ । निर्जीवन बीमा समूहको २ दशमलव ४१ प्रतिशत र जीवन बीमा समूहको २ दशमलव २० प्रतिशत परिसूचक बढेको हो ।
गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३ दशमलव १७ प्रतिशत घटेको छ । त्यस्तै होटल तथा पर्यटन समूहको २ दशमलव १९ प्रतिशत, व्यापारिक समूहको २ दशमलव १० प्रतिशत, अन्यको १ दशमलव शून्य ६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८५ प्रतिशत, बैंकिङको शून्य दशमलव ८४ प्रतिशत, लगानीको शून्य दशमलव ४९ प्रतिशत, वित्तको शून्य दशमलव ३३ प्रतिशत, लघुवित्तको शून्य दशमलव २३ प्रतिशत र विकास बैंकको शून्य दशमलव २० प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेन्ज ।