भरतपुरमा ३२ करोड लगानीमा रिसोर्ट सञ्चालन

चितवन । भरतपुरमा ३२ करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न व्यवसाय र क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानी चितवन मिड टाउन (सीएमटी) रिसोर्ट सञ्चालनमा ल्याइएको हो । सोमवार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले  औपचारिक रूपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको छ । कार्यक्रममा रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । २०७६ सालदेखि निर्माण शुरू भएको रिसोर्ट हालै सम्पन्न गरी सेवा शुभारम्भ गरिएको हो । उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीनओटा हल रहेका छन् । यसैगरी एकपटकमा सय जना क्षमताको भोजनालय, बार कफिसप, स्वीमिङ पुल, वाल ग्यासकेट र वाटर फाउन्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचेन रहेको, जहाँ बिजुली र बाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीले बताए । आगामी दिनमा डिस्को बार सहितको बसको सुविधा दिन लागिएको भन्दै उनले विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पुरयाउने व्यवस्था गरिने जानकारी दिए । यस क्षेत्रमा हुने विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ । रिसोर्टमा सुविधासम्पन्न ४२ ओटा रूम छन् । साथै रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हलको व्यवस्था रहेको छ ।  कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भूकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना  सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसँगै  सेवा शुरू गर्न लागिएको जानकारी दिए । घिमिरेका अनुसार हाल यहाँ सबै गरी ६२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निकट भविष्यमा सय जनासम्म पुर्‍याइनेछ । एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई चितवन हल, मिड हल र टाउन हल गरी तीन भागमा वर्गीकृत गरिएको छ, जस अनुसार चितवन हलमा २०० जना क्षमता र मिड हलमा ७०० र टाउन हल दुई हजार जनाको क्षमता रहेको छ ।  राजमार्ग भएर हिँड्ने यात्रुका लागि छोटो समयका लागि आराम र सुत्ने व्यवस्था गरिएको प्रबन्ध निर्देशक घिमिरेले बताएका छन् ।

सम्बन्धित सामग्री

२० करोड लगानीमा ‘सिसै पार्क भिलेज’ सञ्चालन

चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले जानकारी दिए । साढे १२ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सञ्चालनमा ल्याइएको हो । सञ्चालक उपाध्यायका अनुसार रिसोर्टमा दुई सुविधासम्पन्न भवनमा १२ ओटा डिलक्स रुम, दुईओटा सेल्फ किचेन अपार्टमेन्ट, स्वीट रुम, कमन रुम, दुईओटा सभा हल, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ पुल लगायत संरचना छन् । रिसोर्टमा एकैपटक करीब सय जना पर्यटकलाई सेवा दिने क्षमता छ । रिसोर्टबाट सिसै पिकनिक स्पट, टिकौली जंगल, वन्यजन्तु लगायत दृश्य अवलोकन गर्न सकिने अर्का सञ्चालक सुवेदीले बताए । निकट भविष्यमा थप ३० करोड लगानी गरी रिसोर्टलाई विस्तार गरिने जानकारी उनले दिए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय हाँस, कुखुरा, तरकारी लगायत उत्पादनको खपत बढेको सुवेदीले बताए । रिसोर्टमा हाल प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी पाएका छन् । रिसोर्टले नयाँ अंग्रेजी वर्षको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।