वैशाख २७, टोकियो (टोकियो) । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफूले ओलम्पिकलाई उच्च प्राथमिकतामा नराखेको अभिव्यक्ति दिएका छन् ।
संसदीय समितिको एक बैठकमा सोमवार कोभिड–१९ को संक्रमण बढे पनि प्रतियोगिता हुन्छ भनेर सोधिएको प्रश्नमा सुगाले आफूले ओलम्पिकलाई सबैभन्दा अगाडि नराखेको बताएका हुन् ।
‘मेरो पहिलो प्राथमिकता जापानीहरुको जीवनको रक्षा र स्वास्थ्य हो, आफूहरुले शुरुमा भाइरस फैलिनबाट रोक्नु पर्छ,’ अझ अगाडि उनले भने ।प्रतियोगिताको भविष्यबारे अन्तिम धारणा अन्तरराष्ट्रिय ओलम्पिक समितिले दिने उनले पुनःबताएका छन् ।
हालैका दिनमा भएका जनमत सर्वेक्षणहरुले ओलम्पिक्स रद्द वा स्थगित हुनु पर्ने देखाइरहेका छन् । ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समय बाँकी छ । बढ्दो संक्रमण नियन्त्रण गर्न तेस्रो आपतकालको म्याद थप र आपतकाल अन्य क्षेत्रमा विस्तार गरिएको छ ।
यसले ओलम्पिक माथिको अन्यौल थपेको छ । तर अन्तरराष्ट्रिय ओलम्पिक समिति, टोकियो ओलम्पिक समिति र सुगा आफैंले पनि सुरक्षित र भयरहित रुपमा प्रतियोगिता हुने जोड दिंदै आइरहेका छन् ।
प्रतियोगिता रद्द गर्न अनलाइन याचिका शुरु भएको पाँच दिनमा ३ लाखभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । एजेन्सी