काठमाडौं । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए ।
औपचारिकरूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । कतिपय नेपाली भिजिट भिसा (Visit Visa)मा बाहिरिने र उतै बस्ने गरेका छन् । भिजिट भिसामा बाहिरिनेको अभिलेख विभागले राख्दैन ।
विशेष गरी यूरोपेली मुलुक, संयुक्त राज्य अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युएईजस्ता विकसित मुलुकमा भिजिट भिसामा प्रवेश गर्ने र उतै लुकेर काम गर्ने, राजनीतिक शरण दाबी वा वर्किङ भिसा (Working Visa) लिएर काम गर्नेहरू पनि उल्लेख्य रहेको श्रमक्षेत्रका जानकार बताउँछन् ।
स्वदेशमा रोजगारीको अवसर ज्यादै सीमित हुँदा विदेश पलायनको प्रवृत्ति डरलाग्दोसँग बढेको हो । श्रमबाहेक अध्ययन भिसा (Student Visa) मा विदेशिनेको संख्या पनि ठूलो छ । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले सम्प्रेषण गरेको समाचारअनुसार गत साउनदेखि चैत २२ गतेसम्ममा ८० हजार जनाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन गर्न जाने अनुमतिपत्र (NOC) लिएका छन् ।
पछिल्ला वर्षहरूमा विदेशमा रहेका नेपालीले पठाउने रकम (विप्रेषण) राष्ट्रिय अर्थतन्त्रको प्राणवायु बनेको छ । विपन्न परिवारको आर्थिक स्तर उकास्नमा पनि वैदेशिक रोजगार र विप्रेषणकै मुख्य हात रहेको पुष्टि भइसकेको छ । तर, विप्रेषणले क्षणिक रूपमा राम्रो गरेको देखिए पनि यो अर्थतन्त्रको दीर्घकालीन हितमा नहुने विज्ञहरू बताउँछन् ।