कांग्रेसले उठायो बजेटको वैधानिकतामै प्रश्न

काठमाडौं । संसद् विघटन गरेर सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसले अलोकतान्त्रिक भएको ठहर गरेको छ । बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले प्रतिनिधिसभा विघटनको वैधानिकता सर्वाेच्च अदालतमा परीक्षण भइरहेको बेला सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर गरेको हो । सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृति बेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य मान्यता विपरीत सरकारले बजेट प्रस्तुत गरेको र त्यसले बजेटको वैधानिकतामै प्रश्न उठेको कांग्रेसले औंल्याएको छ । सोमवार आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले जनतालाई झुक्याएर चुनाव जित्ने आशा राखेर बजेट ल्याइएको आरोप लगाए । ‘कुनै पनि आँकडा हेर्दा पार लाग्ने देखिँदैन । यसैलाई देखाएर  चुनाव जित्न पाइन्छ कि भने नयाँ नयाँ नारा ल्याइएको छ,’ उनले भने । कांग्रेसले बनाएको छायाँ सरकारका अर्थमन्त्री समेत रहेका रिजालले वैधानिकता गुमाएको सरकारले बजेट ल्याउनु नै अनुचित भएको बताए । अनुमानित खर्च र राजस्व संकलन पनि सम्भव नरहेको नेता रिजालले बताए । ‘यो वर्षको संशोधित खर्चभन्दा झण्डै ३० प्रतिशतले बढी खर्च गर्ने र राजस्वको अनुमान २५ प्रतिशतले थपिने भनिएको छ, जुन सम्भव छैन,’ उनले भने । बजेटमार्फत सरकारले आम नागरिकलाई कुनै आशा जागृत गराउन नसकेको पनि कांग्रेसले बताएको छ । कोरोना कहरबाट पीडित, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका, अर्थतन्त्रको गतिहीनता, राजनीतिक दाउपेच तथा खिचातानीबाट आजित र निराश नागरिकलाई बजेटले कुनै पनि आशा जागृत गराउन नसकेको कांग्रेसको ठहर छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट भ्रमको खेती भएको र कार्यान्वयन गर्न नसक्ने खालको भएको भएको टिप्पणी गरिएको छ । बजेटले सामाजिक सुरक्षा भत्तामा गरेको वृद्धिलाई सोझै आलोचना नगरे पनि कांग्रेसले यसतर्फ संकेत गर्दै चालू खर्चको भार थप्ने कार्यक्रमले पूँजी निर्माणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न स्रोतसाधन सीमित तुल्याउने र देश विकास तथा जनताका आर्थिक उत्थानका दिशामा खासै प्रगति नहुने औंल्याएको छ । प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरूको निर्वाचन क्षेत्रमा अत्यधिक रूपमा बजेट विनियोजन गरिनुले आहतमा परेका आम नागरिकप्रति अपमान भएको पनि सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै कोभिड–१९ को मारमा परेका जनतालाई आशा जगाउने बजेट नआएको कांग्रेसले बताएको छ । सरकारले कोभिड रोकथाम लगायतको कार्ययोजना ल्याउन नसकेको आंैल्याउँदै कांग्रेसले अर्थतन्त्रको बलियो खम्बाका रूपमा रहेको युवा शक्तिलाई बजेटले ध्यान दिन नसकेको स्पष्ट पारेको छ । बजेट कार्यान्वयनको क्षमता अति कमजोर रहेकाले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको बजेटमा कुनै लक्ष्य भेट्न नसक्ने कांग्रेसको जिकिर छ ।