चिनियाँ स्मार्टफोन कम्पनीको साढे ५५ अर्ब भारु जफत,  अवैध रूपले देश बाहिर रकम पठाएको आरोप

वैशाख १८, नयाँदिल्ली । चीनको स्मार्टफोन निर्माता कम्पनी साओमीको साढे ५५ अर्ब भारतीय रुपया(भारु) जफत भएको छ । भारतको राजस्व अनुसन्धान सम्बन्धी जाँच इकाइ प्रवर्तन निर्देशनालय (ईडी) ले साओमी इन्डियाले भारतीय विदेशी मुद्रा सटही कानून उल्लंघन गरेको भन्दै कम्पनीको ५५ अर्ब ५१ करोड भार जफत गरेको हो।  ईडीले साओमीको भारतस्थित आधिकारिक कम्पनी साओमी टेक्नोलोजी इन्डिया प्रालि (साओमी इन्डिया) को पैसा जफत गरिएको छ। एमआई ब्राण्डमा साओमी इन्डियाले त्यसको विक्री विवरण गर्दै आएको छ। साओमी इन्डियामा चीनको साओमी ग्रूपको शतप्रतिशत लगानी छ। गत फेब्रुअरीमा साओमी इन्डियाले अवैध रेमिट्यान्सको रुपमा भारतबाट पैसा पठाएपछि इडीले साओमीमाथि अनुसन्धान शुरु गरेको थियो । कम्पनीमाथि विदेशी मुद्रा प्रबन्धन कानून उल्लंघन तथा मनि लन्ड्रिंगको आरोप छ ।  उता साओमीका प्रवक्ताले भने स्थानीय ऐन कानूनलाई ध्यान दिएरै सबै काम गरिरहेको भन्दै रोयल्टी भुक्तानी साओमी इन्डियाका लागि वैध व्यापारिक सम्झौता अन्तर्गत गरिएको बताएका छन् । गत जनवरिमा साओमीले ६५३ करोड भारु राजस्व छली गरेको पाइएपछि डिरेक्टोरेट अफ रेभिन्यू इन्टेलिजेन्स् (डीआरआई) ले कम्पनीका ग्लोबल भाइस प्रेसिडेन्ट मनुकुमार जैनसँग बयान लिएको थियो। अनुसन्धानको क्रममा साओमी इन्डियाले न्यून बिजीकरण गरी भन्सार छली गरेको डीआरआईको अनुसन्धानले फेला पारेको थियो। साओमी इन्डियाले भन्सार छली गरिरहेको सूचना पाएपछि डीआरआईले साओमी इन्डियाको मुख्यालयसहितका अन्य स्थानमा छापा मारेको थियो।  साथै उसले  रोयल्टी भुक्तानी र लाइसेन्स फी क्वाल्कम अमेरिका र पेचिङ साओमी मोबाइल सफ्टवेयरलाई दिएको फेला परेको थियो।  साओमी इन्डियाले सामग्री तथा उपकरण आयत गर्दा क्वाल्कम अमेरिका र पेचिङ साओमी मोबाइल सफ्टवेयरलाई तिरेको रोयल्टी र लाइसेन्स शुल्क कारोबार मूल्यमा समावेश नगरेको दावी  डीआरआईले गरेको छ । एजेन्सीहरु