जापानले नेपाललाई दियो २ अर्ब ६१ करोड रुपैयाँ अनुदान, खानेपानी आयोजनामा खर्च गरिने

फागुन २६, काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । यो सहायता रकम विराटनगर खानेपानी सुधार आयोजनाका लागि उपलब्ध गराइएको हो । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन 'विराटनगर खानेपानी सुधार आयोजना' कार्यान्वयनमा खर्च गरिने मन्त्रालयले बताएको छ । अहिले अधिकांश विराटनगरबासीहरु दैनिक घरायसी उपयोगका लागि आवश्यक पानीका लागि ट्युबेलमाथी निर्भर हुनु परेको छ ।  नेपाललाई सबैभन्दा धेरै अनुदान सहयात दिने मुलुकमध्ये जापान अग्रस्थानमा रहँदै आएको छ ।