कुल बजार पूँजीकरणमा नेपाल टेलिकमको अग्रता कायमै, यो साता प्रतिकित्ता ६३ रूपैयाँले मूल्य वृद्धि

जेठ ८, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये सर्वाधिक कुल बजार पूँजीकरण नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) कै रहेको छ ।  पछिल्लो समय नेपाल दूरसञ्चार कम्पनीको भन्दा बढी कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत भएपनि कुल बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनीकै अग्रता कायम भएको हो । कुल बजारपूँजीकरण पहिलो नम्बरमा रहेको नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण रू. २ खर्ब ९ अर्ब १० करोड रहेको छ ।  गत साताभन्दा यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३ ले बढेको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार ३३१ रहेको नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य यो साता रू. १ हजार ३९४ पुगेको छ ।  दोस्रो बजारमा सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक भने सर्वाधिक कुल बजार पूँजीकरण भएको दश कम्पनीमध्ये छैठौं नम्बरमा रहेको छ । कम्पनीको कुल बजारपूँजीकरण रू. १ खर्ब ७ अर्ब ४० करोड रहेको छ ।  फागुन २ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कित्ता शेयर सूचीकृत भएपनि मूल्य कम भएकाले कुल बजार पूँजीकरणमा पछि परेको हो । गत साता प्रतिकित्ता रू. ५३१ रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य यो साता प्रतिकित्ता रू. ६ ले बढेर रू. ५३७ पुगेको छ । सर्वाधिक पूँजीकरणमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । नबिल बैंकको कुल बजार पूँजीकरण रू. १ खर्ब ७५ अर्ब २४ करोड २० लाख पुगेको छ । यो साता नबिल बैंकको शेयरमूल्य गत साताभन्दा प्रतिकित्ता रू. ३३ ले बढेको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार २६७ रहेको अन्तिम शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार ३०० पुगेको छ ।  सर्वाधिक कुल पूँजीकरण भएका १० ओटा कम्पनीमध्ये १० नम्बरमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ । हिमालयन बैंकसँग मर्जर प्रयोजनका लागि वैशाख ३१ गतेदेखि कारोबार रोक्का रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको कुल बजार पूँजीकरण रू. ७४ अर्ब ७८ करोड ३० लाख रहेको छ । कारोबार रोक्का हुँदाको अवधिसम्म नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य रू. ४६० कायम भएको छ ।  कुल बजार पूँजीकरणमा नवौं स्थानमा रहेको अपर तामाकोशीको शेयरमूल्य भने गत साताभन्दा यो साता प्रतिकित्रा रू. १ ले घटेको छ । गत साता रू. ८१६ रहेको अपर तामाकोशीको शेयरमूल्य यो साता रू. ८१५ कायम भएको हो । अपर तामाकोशी बाहेक यो साता सर्वाधिक बजार पूँजीकरण भएका सबै कम्पनीको शेयरमूल्य बढेको छ । नेपाल दूरसञ्चार कम्पनी, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र अपर तामाकोशी सँगै सर्वाधिक बजार पूँजीकरण भएका दश कम्पनीभित्र तेस्रो नम्बरमा नेपाल पुनर्बीमा कम्पनी, चौथोमा नेपाल लाईफ इन्स्योरेन्स, पाँचौमा नागरिक लगानी कोष, सातौमा एनआईसी एशिया बैंक, आठौं नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । सर्वाधिक बजार पूँजीकरण भएका १० ओटा कम्पनीहरुः                                                                  स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)