काठमाडौं । बैंक, वित्त, बीमा, जलविद्युत्, अटोमोबाइल, पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गरेको देशका ठूलामध्येको एक व्यापारिक घराना आइएमई समूहले एकै छानामुनि सबै किसिमका शीपमूलक तालीम दिने टेक्निकल स्कूल सञ्चालन शुरू गरेको छ ।
आइएमई समूहले प्रवर्द्धन गरेको काठमाडौं टेक्निकल स्कूलले अतिथि सत्कार तथा पर्यटन, वाणिज्य व्यवस्थापन तथा उद्यमशीलता, प्रोफेशनल डेभलपमेन्ट, इन्जिनीयरिङ र स्वास्थ्य विधाका तालीम दिने स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र शर्मा घिमिरेले जानकारी दिए । अतिथि सत्कार र पर्यटनअन्तर्गत अतिथि सत्कार व्यवस्थापन, साना होटेल तथा लज सहायक, बारटेन्डर, वेटर, कमर्सियल कुक/बेकर, बरिस्ताको तालीम उपलब्ध छ । बिजनेश म्यानेजमेन्टअन्तर्गत सहकारी म्यानेजर, इन्टरप्राइजेज डेभलपमेन्ट फ्यासिलिटेटर, लाइब्रेरी सहायक, सेल्स पर्सन र बचत तथा ऋण परिचालनसम्बन्धी तालीम दिइने घिमिरेले बताए ।
प्रोफेशनल डेभलपमेन्टअन्तर्गत कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन, इलेक्ट्रिसियन, एलसीडी, एलईडी टेलिभिजन मर्मत, प्लम्बर र टेलिकम टेक्निसियनको तालीम दिइनेछ ।
त्यसैगरी इन्जिनियरिङअन्तर्गत ब्याकहो लोडर अपरेटर, एस्काभेटर अपरेटर र मोबाइल क्रेन अपरेटरको र स्वास्थ्य विधामा केयरगिभरको तालीम उपलब्ध रहेको घिमिरेले जानकारी दिए ।
काठमाडौंको सुकेधारास्थित उक्त स्कूलमा स्किल ल्याबसहितको पूर्वाधार छ । उक्त स्कूलले अतिथि सत्कार र केयर गिभिङसम्बन्धी तालिम शुरू गरिसकेको छ । अन्य तालिम पनि छिट्टै शुरू गर्ने घिमिरेले जानकारी दिए । स्कूलमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले सीटीईभीटीको प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्रका लागि प्रशिक्षार्थीले सीटीईभीटीमा शीप परीक्षण गराउनु पर्नेछ ।
सीईओ घिमिरेका अनुसार स्कूलले उद्योगको आवश्यकताअनुसारको तालीम पनि दिनेछ । ‘उहाँ (उद्योग) हरू हाम्रा कामदार/कर्मचारीलाई यस्तो किसिमको तालीम चाहियो भनेर आउनुभयो भने हामी तयार छौं,’ उनले आर्थिक अभियानसँग भने, ‘हामीसँग सोहीअनुसारका प्रशिक्षक र पूवार्धार छ ।’
उक्त स्कूलका प्रशिक्षार्थीले आइएमई समूहअन्तर्गतका बैंक वित्तीय संस्था, होटेल, व्यापारिक प्रतिष्ठानमा इन्टर्नशिप गर्न पाउने हुँदा प्रशिक्षण सकेपछि सम्बद्ध क्षेत्रमा फिट हुने घिमिरेको दाबी छ । शुरुआती चरणमा प्रशिक्षार्थीलाई आइएमई समूहअन्तर्गतका उद्योग, प्रतिष्ठान र स्कूलसँग सहकार्य गरिरहेका विभिन्न संघसंस्था र निकायमा रोजगारी दिलाउन पहल गरिने पनि घिमिरेले बताए ।
त्यसका लागि स्कूलले समन्वय गरिरहेको उनको भनाइ छ । व्यक्तिको चाहनाअनुसार ‘कस्टमाइज्ड ट्रेनिङ’ पनि दिन सकिने स्कूलका कार्यक्रम संयोजक शिवबालक चौधरी बताउँछन् । ‘तोकिएको शुल्क तिरेर आफूले चाहेको विषयमा १ दिनमात्र तालीम लिन्छु भन्नेलाई पनि हामी सेवा दिन्छौं,’ चौधरीले भने । यसका लागि २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने उनले जानकारी दिए । उक्त स्कूलको प्रशिक्षण स्वदेशमा मात्र नभएर विदेश जानेका लागि पनि निकै फलदायी हुने उनको भनाइ छ ।
नेपालमा एउटै छानामुनि सबै क्षेत्रको तालिम लिन पाइने तथा सम्पूर्ण पूर्वाधारले सुसज्जित टेक्निकल स्कूल सम्भवतः यो नै पहिलो हुन सक्ने सीईओ घिमिरेको भनाइ छ । उक्त स्कूलमा सञ्चालित तालीमको शुल्क प्रतिव्यक्ति ६० हजार रुपैयाँ तोकिएको छ । छोटो अवधिको वित्तीय क्षेत्र व्यवस्थापन र कुशल नेतृत्व विकास कक्षामा दैनिक २५ सय रुपैयाँ तिरेर सहभागी हुन पाइने कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।