अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु त्यहाँका राष्ट्रपतिबाट विभूषित, पाए ‘डेकोरेसन अफ अनर इन सिल्भर’

काठमाडौं । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’बाट विभूषित भएका हुन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपालका लागि अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेकी हुन् । यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक वाणिज्यदूत लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।  विभूषित भएसँगै श्रेष्ठले आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने बताए । उनले भने, ‘पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्छ ।’  कार्यक्रममा नेपालका लागि अस्ट्रियाका राजदूत विजरले कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि बताइन् । श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक पनि हुन् ।