काठमाडौं । एक महीनामा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस समूहको परिसूचक गत कात्तिक २१ गते ९ हजार ७ सय ५१ दशमलव ६४ विन्दुमा रहेकोमा यही मङ्सिर २१ गते १० हजार ४३३ दशमलव ०२ विन्दुमा पुगेको हो । यस आधारमा यस समूहको परिसूचक एक महीनामा ६ दशमलव ९९ प्रतिशत बढेको छ ।
एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा निर्जीवन बीमा समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक एक महीनामा ५ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । गत कात्तिक २१ गते यस समूहको परिसूचक ९ हजार ५९१ दशमलव ६६ विन्दुमा रहेकोमा यही मङ्सिर २१ गते १० हजार ८८ दशमलव ४१ पुगेको हो ।
नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्कासन गर्दा प्रिमियमबापतको संकलन गरेको रकम लाभांशको रूपमा वितरण गर्न पाउने भएका छन् । सोही कारण बीमा समूहको शेयरमा लगानीकर्ताको आकर्षण परेको हो ।
बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो ।
एक महीनामा १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ४ दशलमव ८९ प्रतिशत घटेको छ । गत कात्तिक २१ गते यस समूहको परिसूचक ३ हजार ४२४ दशमलव ४ रहेकोमा मङ्सिर २१ गते ३ हजार २५६ दशमलव ९४ मा झरेको हो ।
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । यसो त चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरूको खराब कर्जा बढेको छ भने केही कम्पनीहरू नोक्सानीमा छन् । यही कारण यस लघुवित्त कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको जानकारहरू बताउँछन् ।
त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक एक महीनामा ४ दशलमव ५५ प्रतिशत र बैंकिङ्क समूहको परिसूचक २ दशलमव ७३ प्रतिशत घटेको हो ।