टेकु अस्पतालमा रेबिजविरुद्धको खोप लगाउनेको सङ्ख्या वृद्धि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक झण्डै डेढ सय रेबिजविरुद्धको खोप लगाउन आइरहेका छन् । बन्दाबन्दी खुकुलो भएसँगै अस्पतालमा सामान्यावस्थामा जत्तिकै सङ्ख्यामा बिरामी आइरहेको अस्पतालले जनाएको छ । सामान्यावस्थामा दैनिक डेढ सयदेखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । बन्दाबन्दीको शुरुआती दिनमा यो सङ्ख्या दैनिक झण्डै एक सय थियो । उहाँका अनुसार अहिले काठमाडौँ उपत्यका मात्रै नभएर बाहिरका टाढाटाढाका जिल्लाबाट समेत बिरामी आइरहेका छन् । उहाँले भन्नुभयो, “निजी सवारीसाधन चल्न थालेकाले धेरैलाई आउन सजिलो भएको छ ।”