पोखरामा प्याराग्लाइडिङ उडान पुनः सञ्चालन गरिँदै

पोखरा । कोभिड–१९ का कारण पोखरामा पछिल्लो समय ५ महीनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौं, अब यसै हप्ता उडान शुरू हुनेछ,’ उनले भने । सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नले बताए । संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी उनले दिए । ‘लामो समय उडान नहुँदा उपकरण बिग्रिन सक्ने भएकाले ग्लाइडर, रेस्क्यु, जाँच गरेर टेष्ट फ्लाइट गरी उडान सञ्चालन गर्नेछौं,’ उनले भने । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए । साहसिक खेलका रूपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरू भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने १५ जना छन् । यस क्षेत्रमा झण्डै १ अर्ब रुपैयाँ लगानी छ भने १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए । छूटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको थियो । कोभिडअघि ५ हजारदेखि ८ हजारसम्म शुल्क लिइँदै आएकोमा पछिल्लो समय २५ सयदेखि ३ हजार रुपैयाँ शुल्कमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुंगो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए । रासस