साउन २२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा रू. १ अर्ब ५५ करोड ५५ लाख ७० हजार ४०० बराबरको आवेदन परेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीवारसम्ममा ७४ हजार ११४ जनाले १ करोड ५५ लाख ५५ हजार ७०४ कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २ दशमलव ५९ गुणा बढी आवेदन हो ।
कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविसु) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याएको छ ।
शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । आवेदकले साउन ३२ गतेसम्म आवेदन गर्न पाउने छन् । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ ।
साथै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।