कञ्चनपुर । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ ओटा शाखा नहर निर्माणको गृहकार्य अघि बढाइएको छ । मूल नहर निर्माण शुरू गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झन्डै ५० किलोमिटर लामो शाखा नहर निर्माणका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करीब १३ किलोमिटर मूल नहर निर्माण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मूल नहर निमार्णाधीन अवस्थामै छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निर्माणको तयारी तीव्र पारेको छ । ‘शाखा नहर निर्माणका लागि योजना बनाउँदै छौं,’ पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने तयारी छ ।’
भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ । महाकाली सन्धिअनुसार भारतले नेपालको सीमासम्म यहाँ १ हजार २०० मिटर मूल नहर र हेडरेगुलेटर लगायत संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निर्माण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ । आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करीब २०० मिटर मूल नहर निर्माण गर्न बाँकी छ । सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य विन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको काम समेत अघि बढेको छ । ‘निर्माणाधीन १५ किलोमिटर मूल नहर बीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रूख कटानका कारण ढिलाइ भएको हो,’ उनले भने ।
त्यसैगरी सिँचाइले कञ्चनपुरको महाकाली पारि दोधारा चाँदनीमा समेत नहर निर्माणका लागि सर्वे थालेको भए पनि स्थानीयको अवरोध पछि केही समय स्थगन भएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोधारा चाँदनीमा सर्वेको काम अहिले रोकिएको छ,’ पण्डितले भने, ‘त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।’ हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रू. २ अर्ब ३० करोडको ठेक्का सम्झौता भए अनुसार काम भइरहेको छ । रासस