बारामा जन्ती बोकेको रथ दुर्घटना : दुईको मृत्यु, १३ जना घाइते

पर्सा : बाराको आदर्श कोटवाल गाउँपालिका-३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो।आदर्श कोटवाल-३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका-७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो।