बगर खेतीको विस्तार

एक वर्षमा नै तरबुजाको आयात दोब्बर बढेको छ । गत आर्थिक  वर्षको पहिलो ६ महीनामा ६ करोड २० लाख रुपैयाँ बराबरको तरबुजा आयात भएकोमा चालू आवको सोही अवधिमा १३ करोड ९१ लाख बराबरको  आयात भएको छ । नेपालमै तरबुजाखेती सम्भव भए पनि उचित बजार र प्रोत्साहनको अभावमा यसको खेती घटेको समेत देखिन्छ । यसको खेती बढाउन स्थानीय सरकारको भूमिका निकै महत्त्वपूर्ण हुने देखिन्छ । नेपालमा उपभोग हुने  तरबुजा भारतबाट आयात हुन्छ । भारतमा उत्पादन हुने तरबुजाको खेती नेपालमा नहुने भन्ने हुँदैन । त्यसमा पनि तरबुजा सामान्यतया नदीकिनार र बगरमा सजिलै फलाउन सकिन्छ । तराई र पहाडी क्षेत्रमा समेत खोला किनारमा यसको खेती गर्न सकिन्छ । आफ्नो जग्गा नभएका विपन्न वर्गलाई गाउँको खोलाकिनारमा यसको खेती गर्न स्थानीय सरकारले सघाउनुपर्छ । यसका लागि केही तालिम र बीउ उपलब्ध गराइदिने हो भने सजिलै तरबुजाको उत्पादन बढाउन सकिन्छ । कोरोना कालअघिसम्म तरबुजाको खेती प्रशस्त भएको पाइन्छ । तर, त्यसबेला नेपाली तरबुजाले बजार पाउन नसकेर किसानले घाटा खानु परेको थियो । त्यसैले त्यसपछि यसको खेती कम हुन थालेको अनुमान गर्न  सकिन्छ ।   केही स्थानीय तहले बगर खेती कार्यक्रम ल्याएर किसानलाई तरबुजा, परबलजस्ता खेती गर्न प्रोत्साहित गरेको पनि पाइन्छ । खेर गइरहेको बगरमा खेती गर्न दिएर उदाहरणीय काम गरे पनि उत्पादनलाई बजारसँग जोड्न भने सकिएन । फलतः किसानले उत्पादन गरेर पनि फाइदा भने सोचेजस्तो लिन सकेनन् । नेपालमै तरबुजा खेती प्रशस्त गराउने हो भने बीउ र तालिममा विशेष ध्यान दिनुपर्छ । बगरमा खेती हुने र जनावरले खासै क्षति नपुर्‍याउने तथा चोरीसमेत तुलनात्मक रूपमा कम हुने भएकाले तरबुजा खेती निकै सहज देखिन्छ । तारे होटेलहरूमा यसको माग बढ्न थालेकाले स्थानीय तहले तरबुजा खेती गर्न विशेष कार्यक्रम ल्याउनुपर्छ । अहिले एकाध स्थानीय तहले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेका छन् । यसले स्थानीय फलफूल र तरकारीलाई बजारमा पुर्‍याउन सहयोग पुग्छ । यस्तै खालको रचनात्मक कार्यद्वारा स्थानीय तहले बगर खेतीलाई प्रोत्साहन गर्नु जरुरी देखिन्छ ।