काठमाडौं । स्वीटजरल्यान्डको बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीसले हालै मात्रै त्यहाँको केन्द्रीय बैंकबाट अर्बौ डलरको वित्तीय तरलता पाएको छ ।
तरलता प्रवाहको खबरसँगै अघिल्लो दिन ३० प्रतिशतले घटेको बैंकको शेयरमूल्य बिहीवारको कारोबारमा ३० प्रतिशतले उकालो लाग्यो । तर यो वृद्धि खासै टिकेन । शुक्रबार यसको शेयर मूल्यमा फेरि पहिरो गयो । १६७ वर्षको इतिहास बोकेको यो बैंक असफल हुन दिनै नहुने गरी ठूलो छ भन्ने आँकलन छ । यस्तोमा बैंक धराशयी भएर अन्य समस्या आउने स्थिति टार्न यसलाई बेच्ने विकल्पबारे विचार भइरहेको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यममा समाचार आएका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार बैंक व्यवस्थापनले सप्ताहन्तमा यूबीएससँग छलफल गरेका थिए । यो छलफल क्रेडिट स्वीसको सबै वा केही अंश किन्नेमा केन्द्रीत भएको बताइएको छ । सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटयताको यो यूरोपमा हुन लागेको सबैभन्दा ठूलो मर्जर हुनेछ । स्वीस बैंकिङ क्षेत्रको मनोबल बढाउन स्वीस नेशनल बैंक र वित्तीय नियामक फिन्माले सक्दो प्रयास गरिरहेको जानकारहरु बताउँछन् ।
क्रेडिट स्वीसलाई आकस्मिक रुपमा ५४ अर्ब डलर दिन केन्द्रीय बैंक बाध्य भएको केही दिन नबित्दै नयाँ घटनाक्रम देखा परेका हुन् । केन्द्रीय बैंकले अर्बौ डलर प्रवाह गर्दा पनि बैंकको शेयरमूल्यमा पहिरो जाने क्रम रोकिएको छैन। बैंकको सबैभन्दा ठूलो शेयर धनी साउदी नेशनल बैंकले अब आफूले क्रेडिट स्वीसमा थप लगानी खन्याउन नसक्ने बताएपछि क्रेडिट स्वीस संकटमा घेरिएको हो ।
बैंक पतनै हुने हो कि भनेर सम्पति व्यवस्थापन गर्ने बैंकका क्लाइन्टहरुको बहिर्गमनको लर्को लागेको छ । यूबीएसको अवस्था अहिलेसम्म निक्कै राम्रो छ । गएको तीन वर्षमा यूबीएसको शेयरमूल्य १२० प्रतिशतले बढ्दा क्रेडिट स्वीसको करीब ७० प्रतिशतले घटेको छ । शुक्रवार बजार बन्द हुँदा क्रेडिट स्वीसको बजार पूँजीकरण ८ अर्ब डलरमा समेटिएको छ । यूबीएसको बजार पूँजीकरण सोही अवधिमा ५६ अर्ब डलर छ ।
२०२२ मा यूबीएसले ७ अर्ब ६० अर्ब डलर नाफा कमाउँदा क्रेडिट स्वीसले ७ अर्ब ९० करोड डलर घाटा बेहोरेको थियो । अर्थात् यो रकम बैंकले अघिल्लो दशकभर कमाएको सबै रकम बराबर हो । आफूले बैंकप्रति लगानीकर्ताहरुको खस्किदैं गएको विश्वास फर्काउन प्लान ए अन्तर्गत यूबीएस र क्रेडिट स्वीसलाई गाभ्न लागेको स्वीस नियामकहरुले आफ्ना अमेरिकी र बेलायती समकक्षीहरुलाई बताइसकेको भन्दै अर्का एक स्रोतले पनि भनेका छन् ।
प्रतिस्पर्धा मिचिने डरले अहिले बैंकलाई पूरै किन्ने बाहेकका अन्य विकल्पहरुबारे पनि छलफल भइरहेको बताइएको छ । उता, यूबीएसले पनि क्रेडिट स्वीस किन्दा हुन सक्ने जोखिमहरुबारे सोचिरहेको छ । सोमवार बजार खुल्नु अघि नै स्पष्ट अनि सिधा समाधानमा बैंकहरु सहमतिमा आउन् भन्ने चाहना स्वीस केन्द्रीय बैंकको छ । यो सम्झौता हुन्छ नै भन्ने पक्का भने छैन । यसलाई यूबीएसका शेयरधनीहरुले पनि मञ्जुरी दिनु पर्नेछ । यसबारे सम्बन्धित कुनै पनि पक्षले मुख खोलेका छैनन् ।
मर्जर भयो भने यो यूरोपको सबैभन्दा ठूलो बैंक बन्नेछ । यूबीएसको कूल सम्पत्ति र बासलात ११ खर्ब डलरको छ भने क्रेडिट स्वीसको ५ खर्ब ७५ अर्ब डलरको छ । बैंक अहिले एक्कासी समस्यामा परेको होइन । विगत २-३ वर्षदेखि नै यसले वित्तीय समस्या भोगिरहेको थियो । गएको वर्ष नै बैंक मर्जरका खबरहरु आएका थिए ।
अमेरिका फेडको ब्याजदर वृद्धिको चपेटामा परेर सिलिकन भ्याली बैंकको अवसान भएपछि विश्वभर वित्तीय प्रणालीको प्रणालीगत जोखिम बढेका छन् । तर क्रेडिट स्वीसको अन्य समस्या पूरा ज्ञात हुन सकेको छैन । बैंक अहिले एक्कासी समस्यामा परेको होइन । विगत २-३ वर्षदेखि नै यसले वित्तीय समस्या भोगिरहेको थियो । हेज फन्डमा बैंकले साढे ५ अर्ब डलर गुमायो ।
टूना बन्ड स्क्याममा पनि बैंक दोषी पाइएको थियो । पूर्व रेस्लरलाई लागू औषध बेचेको पैसा दिएको अभियोग पनि बैंकमाथि छ । एक पछि अर्को गर्दै बैंक अनेक कान्डमा फस्नु, बैंकको शीर्ष व्यवस्थापनमा बारम्बार हेरफेर र रणनीतिक गल्तिका कारण अहिले स्वीट्जरल्यान्डको १६७ वर्ष पुरानो बैंक धराशयी बन्ने संघारमा छ ।
यूबीएसले क्रेडिट स्वीस किनेन भने बैंकको शेयरमा देखिएको पहिरो रोकिने छैन । यसको डिफल्ट स्वाप प्राइस बढ्नेछ । अन्य बैंकहरुले बैंकसँगको लाइन नै बन्द गर्नेछन् । ग्राहकहरुले धमाधम आफ्नौ पैसा फिर्ता लैजानेछन् । एसभी बैंकको पतनले कमजोर बैंकहरु बाँच्नै नसक्ने स्थिति उत्पन्न गराएको छ । क्रेडिट स्वीस बैंक धराशयी बन्यो भने यसको असर यूरोपमा मात्रै नभएर विश्वभर पोखिनेछ । एजेन्सी