काठमाडौं । सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरीबी निवारण सूचना प्रणाली (कोपोमिस) मार्फत विवरण बुझाउने संस्थाको संख्या १३ हजार नाघेको छ । करचुक्ताको प्रमाणपत्र लिन, मालपोत कार्यालयमा धितो रोक्का राख्न र विभाग तथा प्रशिक्षण केन्द्रबाट सेवा लिन सहकारीले कोपोमिसमा विवरण राखेको हुनुपर्ने अनिवार्य भएपछि आबद्ध हुने बढेका हुन् । संघीय सहकारी विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुससम्ममा कोपोमिस सञ्चालन गर्नका लागि पासवर्ड लिएका संस्थाको संख्या २८ हजार ७४२ पुगेको छ । त्यसमध्ये १३ हजार १५६ सहकारीले मात्रै समष्टिगत विवरण भरेका छन् । त्यस्तै कम्तीमा एकपटक कोपोमिसमा लगइन गर्ने संस्थाको संख्या १७ हजार २३६ छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ हजार ६७८ सहकारी मात्र कोपोमिसमा आबद्ध थिए । हाल देशभर ३० हजारभन्दा बढी सहकारी सञ्चालनमा छन् ।
सहकारी विभागका प्रवक्ता तथा उपरजिस्ट्रार टोलराज उपाध्याय कोपोमिस प्रभावकारी बनाउने विषय पहिलो प्राथमिकतामा रहेको बताउँछन् । ‘सरकारले अनिवार्य गरेपछि कोपोमिसमा आबद्ध हुने विवरण बुझाउने सहकारीको संख्या बढेको छ,’ उनले भने, ‘अझै सबै सहकारीको विवरण प्रणालीमा नआएकाले राज्यसँग सहकारीको यकीन रेकर्ड छैन ।’
भूमि सुधार, सहकारी तथा गरीबी निवारण मन्त्रालयले २०७३ चैतबाट कोपोमिस सञ्चालनमा ल्याएको थियो । सफ्टवेयरमा देखिएका प्राविधि समस्या र प्रयोगकर्ताको उदासीनताका कारण प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
विभागले हाल प्राविधिक समस्या हल गर्नुका साथै यसमा पठाउनुपर्ने विवरणसमेत परिवर्तन गरेको छ ।