निषेधाज्ञामा निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

वैशाख १६, काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ ।            गण्डकी प्रदेशसभा सदस्य रहेका अध्यक्ष गुरुङले महासंघले तीन ओटै तहका सरकारलाई कोभिड–१९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रहसमेत गरेको बताए।  महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदूरको रोजगारी नगुम्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्ने सहज वातावरण बनाउन पनि माग गरेको छ । दैनिक उपभोग्य सामग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग र महत्वपूर्ण परियोजना सञ्चालनमा रोक नलगाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।            साथै ती उद्योगबाट उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, बिक्री, स्वदेशमै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउन र निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदूरलाई कार्यालय आवतजावत गर्नका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । रासस