वर्तमान महामारीका माझ नेपालको निर्यात व्यापारमा दोहोरो अंकको वृद्धिलाई धेरैले भटमासको तेलको निर्यातसँग मात्र जोडेर हेर्ने गरेका छन् । परन्तु त्यो आंशिक सत्य मात्र हो । वास्तवमा यस अवधिमा छओटा प्रधान वस्तुबाहेक अधिकांश वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपालको निर्यातमा देखिएको यसप्रकारको चरित्रगत विशेषताका पछाडि दुईओटा कारण विद्यमान छन् : पहिलो, नेपाली उद्यमी र निर्यातकर्ताका विपरीत धारमा पनि टिक्न सक्ने क्षमता तथा दोस्रो नयाँ परिस्थितिलाई आफूअनुकूल ढाल्न सक्ने खुबी । नेपालका प्रमुख निर्यातयोग्य वस्तुहरूको निर्यातमा व्यापक वृद्धिको अवस्था देखिनुले नेपाली उद्यमी र निर्यातकर्ताका विपरीत धारमा पनि टिक्न सक्ने क्षमता प्रमाणित भएको छ ।
यसै गरी फेसमास्क जस्तो संवेदनशील वस्तु विश्वका प्रमुख औद्योगिक मुलुकहरू संयुक्त राज्य अमेरिका, जापान, भारत, भुटान, यूके, सिंगापुर, स्वीट्जरल्यान्ड, यूएई, फ्रान्स र जर्मनीजस्ता देशहरूमा निर्यात हुन सक्नुले नेपाली उद्यमी र निर्यातकर्तामा संकटमा सृजित अवसरहरूलाई उपयोग गर्ने क्षमता रहेको प्रमाणित भएको छ । नेपाली उद्यमी र निर्यातकर्ताले विकसित देश र छिमेकी देशहरूका उद्यमी र निर्यातकर्तासरह प्राथमिकता, सहयोग र प्रोत्साहन पाएको भए धेरै उत्पादनमा नेपाली उद्यमी र निर्यातकर्ताले यस्ता अरू पनि सफल उदाहरणहरू स्थापित गर्न अवश्य पनि सफल हुन्थे ।
उद्योग स्थापना, विकास, विस्तार र निर्यात क्षेत्रमा विश्वभरका सरकार आवश्यकताअनुसार अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारकका रूपमा भूमिका खेलिरहेका हुन्छन् । नेपाली उद्यमी र निर्यातकर्ताका लागि पनि यी चारओटा भूमिकाको खाँचो रहेको देखिन्छ ।
नेपाली उद्यमी र व्यापारीहरू विश्वका कुनै पनि देशका उद्यमी र व्यापारीहरू भन्दा कम क्षमताका छैनन् । इतिहास हेर्ने हो भने सिल्क रोडको भारत र चीनबीचको व्यापारमा राणाकालको मध्यखण्डसम्म पनि नेपाली व्यापारीहरूको नै एकछत्र प्रभुत्व कायम रहेको विषय डा. महेशचन्द्र रेग्मीका प्रकाशनहरू पढ्दा स्पष्टै बुझ्न सकिन्छ ।
सन् १९२३ सम्मको नेपालको विदेशनीतिको एक महत्त्वपूर्ण शर्त सिल्क रोडमार्फत हुने भारततर्फको व्यापारको प्रभुत्व नेपाल नै रहोस् भन्ने थियो । त्यस समयमा नेपाली व्यापारीको पहल पनि यसै विषयमा केन्द्रित रहन्थ्यो । मल्लकालको पछिल्लो कालखण्डमा यो प्रभुत्व कमजोर हुँदै जाँदा पृथ्वीनारायण शाहले ‘उप्रान्त पूरव, पश्चिमको रास्ता बन्द गरी नेपालको रास्ता चलाउँला’ भन्ने दिव्योपदेश नै दिएबाट यस क्षेत्रमा नेपालको महत्त्व आफै स्पष्ट हुन्छ ।
उता खस साम्राज्यको व्यापार कश्मीर, गान्धार, पर्सिया हुँदै अरबसम्म पुगेको देखिन्छ । जुम्लामा तालीम दिएका बाजहरू अरब देशहरूमा गएर बेच्ने कला कौशल नेपाली व्यापारीमा रहेको देखिन्छ ।
यसरी विकट भूगोल र विकट समयमा पनि नेपाली उद्यमी व्यापारीहरू वैदेशिक व्यापारमा पोख्त रहेको इतिहासका उदाहरणले पुष्टि गर्छ । वर्तमान महामारीमा फेसमास्कको निर्यात नेपाली उद्यमी र व्यापारीहरूको विगतको निरन्तरता हो भन्दा अत्युक्ति नहोला ।
परन्तु इतिहासको विरासत र वर्तमान कुशलताले मात्र आजको अति प्रतिस्पर्धायुक्त वर्तमान संसारमा टिक्न र प्रस्फुटित हुन त्यत्ति सहज छैन । वर्तमान संसारमा व्यापारीको क्षमता अभिवृद्धि गर्न सरकार तत्त्व अझ बढी निर्णायक भएर आएको छ ।
उद्योग स्थापना, विकास, विस्तार र निर्यात क्षेत्रमा विश्वभरका सरकारहरू आवश्यकताअनुसार अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारकका रूपमा भूमिका खेलिरहेका हुन्छन् । नेपाली उद्यमी र निर्यातकर्ताहरूलाई पनि सरकारको उपर्युक्त चारओटा भूमिकाको खाँचो रहेको देखिन्छ ।
अहिले पनि नेपाली उद्यमीहरूले जसरी तसरी नेपालको निर्यात व्यापारको बिडो थामेरै बसेका छन् । भूपरिवेष्टित मुलुक, महँगो ढुवानी भाडा, कच्चापदार्थमा चरम परनिर्भरता तथा प्रक्रियागत जटितला, भौतिक पूर्वाधारको कमजोर अवस्था तथा उद्योगतन्त्रको कमजोर धरातलका माझ विश्वका सबल र सक्षम देशका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर जम्नु पनि चानचुने विषय होइन ।
एकातिर व्यापारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकार राख्ने सूचकांकहरूको कमजोर अवस्थामा त्यसै पनि व्यवसाय गर्नु महँगो हुन जान्छ । त्यसमा पनि छिमेकी मुुलुक भारत र चीनका उद्यमी र निर्यातकर्ताहरूले प्राप्त गर्ने सहुलियत, अनुदान, प्रोत्साहन र राज्यका तर्फबाट गरिने पैरवीको तुलनामा नेपाली उद्यमी व्यवसायीहरूले प्राप्त गरिरहेका सहुलियत, अनुदान, प्रोत्साहन र राज्यका तर्फबाट गरिने पैरवी अनुभव हुने गरी भएको पनि छैन । यस परिस्थितिमा यस चरम संकटका बेला नेपाली व्यवसायीहरूले प्रदर्शन गरेको कौशलता फेरि पनि प्रशंसाको पात्र नै मान्नुपर्छ ।
यस परिस्थितिमा अन्य मुलुकले झैं नेपाल सरकारले पनि निर्यात क्षेत्रका लागि चारओटा भूमिका खेल्नुपर्छ । नयाँनयाँ वस्तुहरूको पहिचान गरी निर्यात गर्ने पक्षमा वातावरण बनाउन राज्यले अभिभावकीय भूमिका खेल्नुपर्छ ।
यस्तो भूमिकामा सम्बद्ध पक्षसँग सरसल्लाह र आडभरोसाजस्ता विषयहरू पर्छन् । भारतको गुजरातको औद्योगिकीकरणमा त्यहाँका तात्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले यही भूमिका खेलेका थिए ।
त्यस्तै स्टार्टअपमा संलग्न, निर्यात शुरू गरेका र यस क्षेत्रमा अनुभव प्राप्त व्यवसायीहरूलाई उचित संरक्षणको व्यवस्था पनि सोहीअनुरूप हुनुपर्छ । व्यवसाय शुरू गर्दा चाहिने संरक्षण तथा सञ्चालन गर्दा चाहिने संरक्षण सरकारबाट प्रदान गरिनुपर्छ । चीनको चामत्कारिक निर्यात वृद्धिको सबैभन्दा महत्त्वपूर्ण मन्त्र यही नै हो । अनुदान, प्रोत्साहन, प्रक्रियागत सहजता, सुगमता र सुलभताजस्ता विषयहरूमा सरकारको उचित लगानीले सदैव उत्प्रेरणात्मक भूमिका खेलेको हुन्छ । विश्वभरि विशेष गरी कृषिजन्य वस्तुहरूको निर्यातमा यस्ता सुविधा सरकारबाट अनवरत रूपमा प्राप्त हुने गर्छन् ।
यसैगरी निर्यात व्यवसाय संकटमा पर्दा त्यो संकटबाट उद्धार गर्ने प्रत्याभूति पनि हुन जरुरी छ । विश्वभरका प्रधान अर्थतन्त्रहरूले आफ्ना निर्यातकहरू संकटमा पर्दा प्रत्यक्ष र अप्रत्यक्ष विधिहरूबाट संकटबाट उद्धार गर्ने गर्छन् ।
यसरी यी दृष्टान्तबाट शिक्षा लिँदै नेपाल सरकारले नेपाली निर्यात क्षेत्रको अभिभावक, संरक्षक, उत्प्रेरक तथा उद्धारक रूपमा आफूलाई स्थापित गर्नुपर्छ । यत्ति गर्न सकेको खण्डमा जसरी आज संकटको समयमा फेसमास्क निर्यात गर्न नेपाली उद्यमी समक्ष भएका छन् त्यसरी नै भविष्यमा यस्ता अनेक क्षेत्रहरूमा नेपाली व्यवसायीहरूले सफलता प्राप्त गर्न सक्ने देखिन्छ ।
सरकार र निर्यात क्षेत्रको यो बाइनरी भूमिका ( निजीक्षेत्रले खतरा मोल्ने र सरकारले सो खतराबाट निजीक्षेत्रलाई जोगाउने) को क्रमबद्धता (परम्युटेशन) र संयोजन (कम्बिनेशन) ले नेपाली निर्यात क्षेत्रले गुणस्तरीय फड्को मार्ने निश्चित छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजागाईंका यी विचार निजी हुन् ।