बसपार्क सञ्चालनमा ढिलाइ

बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरमा करिब नौ करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको साढे दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्कका लागि जग्गा उपलब्ध गराउने जग्गादाता र नगरपालिकाबिच भएको सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा बसपार्क सञ्चालन गर्न समस्या भएको हो । नगर विकास कोषको ऋण सहयोगमा नगरपालिकाले ठेक्कामार्फत २०७८ असारमा बसपार्क निर्माण सम्पन्न गरिएको थियो । बसपार्कमा सुविधासम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ ।

सम्बन्धित सामग्री

निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस