स्स्स् ! प्रशासनलाई सुत्न देऊ

उहिले उहिले नेपालबाट तमाखु, खुर्सानी, कस्तुरीको विना, राडीपाखी आदि कोसेली बोकेर नेपाली टोली चीनका बादशाहलाई भेट्न जान्थ्यो । चीनका बादशाह पनि नेपालका राजाले मानमनितो गरे भनेर दंग हुन्थे । अनि महँगा महँगा कोसेली दिएर पठाउँथे रे । अचेल यताबाट केही लानुपर्दैन, हुलका हुल मान्छेका जम्बो टोली मात्र लगे पुग्छ । जे कोसेली आउने हो, त्यो चैं उतैबाट आउने गर्दछ ।  तर यसपालि हाम्रा प्रधानमन्त्री अमेरिकापछि चीन भ्रमणमा गएर आए र कोसेली पनि दह्रै लिएर पो आए । अर्थात् चीनसँग गरिएका मुठाका मुठा सम्झौतापत्रहरू र अहिलेसम्मको सबैभन्दा लामो संयुक्त वक्तव्य पनि साथै ल्याए । यो पनि आफैमा उपलब्धि हो । पहिले पहिले पनि हाम्रा प्रधानमन्त्री, राष्ट्रपतिले यस्ता कत्ति सम्झौताका कागजपत्रहरू डोकाका डोका बोकाएर ल्याएकै हुन् । प्रमको काम त सम्झौता गर्दिने न हो । त्यसलाई कार्यान्वयनमा लाने काम त अब प्रशासनको हो । भाषण गरेर शासन गर्न पुगेकाले त आफ्नै लागि रासनपानीको जोहो गर्ने बाहेक अरू के नै गर्छन् र ? तर जहाँसम्म हाम्रो देशको प्रशासनको कुरा छ ऊ प्राय: खाने बेलामा मात्र ब्यूँझन्छ, कुम्भकर्णजस्तो । कुम्भकर्णलाई अरूले आहारा जुराइदिन्थे, हाम्रा प्रशासकहरू त खाने कुराको जोहो आफै गर्न जुर्मुराउँछन् । कुर्सीमा जोसुकैै प्रशासक बसे पनि, कुर्सीमै निदाए पनि यसले हाम्रो प्रशासनिक क्षमतामा खासै असर गर्दैन । हो, सरकारी हाकिमहरू आफ्ना कुर्सीमा बस्दा बस्दै निदाउँछन् पनि । सरकारी कार्यालयका पियन र अझ कुनै दल आबद्ध टे्रड युनियनमा लागेका कर्मचारीहरू त यो विषयमा अझ क्षमतावान् छन् । उनीहरू टुलमै पनि बसी बसी नै उङ्न सक्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि । हाकिमहरू दुई प्रकारले निदाउँछन् । एउटा त सामान्य निद्रा हो, जसमा आँखा बन्द रहन्छन् र दिमाग पनि शान्त रहन्छ । दोस्रोमा आँखा त खुलै रहन्छ, तर दिमाग चैं सुतिरहन्छ । यो एक प्रकारको सिद्धि हो, जुन अनुभवबाट मात्र प्राप्त हुन्छ । सरकारी हाकिम र ‘स्लिप वाकर’मा सबैभन्दा ठूलो भिन्नता यही हो कि स्लिप वाकर कमसेकम हिँड्छ । जब प्रशासन सुत्छ, तब फाइलहरूले तकियाको काम दिन्छन् । सामान्य व्यक्ति आफ्ना दु:ख पीडाहरूलाई भुलेर सुत्छ । तर हाकिमहरू भने थुप्रै मानिसहरूका दु:खकष्टहरूलाई भुलेर मज्जाले सुतिदिन्छन् । विदेशतिरको प्रशासन हो र करदाताको पैसा जथाभावी गर्न हुन्न भन्नलाई ? नेपालको प्रशासन त सरकारी जति आफ्नै भकारी ठानेर चल्ने हो नि ।  सामान्य व्यक्तिलाई थाहा हुन्छ कि उसलाई सुतेपछि उठ्नु पनि पर्छ, र समयमै उठ्नुपर्छ । किनकि भोलि उठेर काम पनि गर्नुपर्छ । तर प्रशासनलाई सुत्दैखेरि थाहा हुन्छ कि उसलाई उठ्नुपर्नेु कुनै आवश्यकता छैन, जति सुत्यो त्यति हाइसन्चो हुन्छ । साधारण ओछ्यानमा केवल सामान्य निद्रा हुन्छ । तर सरकारी निद्रामा एउटा गज्जबको नशा हुन्छ । हाकिमी पाराको अभिमानको नशा क्या ! जब हाकिमलाई निद्रा लाग्छ, तब फाइलहरू विचारहीन रहन्छन् । प्रशासन सुतिरहन्छ र समस्याहरू चैं विचाराधीन रहन्छन् । आगो लागिरहेको हुन्छ । तर निभाउने कुरा विचाराधीन रहन्छ । मानिसहरू मरिरहेका हुन्छन् । तर डाक्टर बोलाउने कुरा विचाराधीन रहन्छ । विचाराधीन शब्द नै एकदम क्रान्तिकारी र रोचक छ । यो खासमा ‘हुन्न’ भन्ने शब्दको सरकारी पर्यायवाची हो । यो सुतिरहेको शासनको अक्षमताको गम्भीर अभिव्यक्ति हो । विचाराधीनको कुनै समयसीमा निर्धारित हुन्न । कुनै पनि प्रश्न लामो समयसम्म विचाराधीन हुन सक्छ । यसमा समस्या विचारहरूको अधीन हुन जान्छ । अथवा समस्यामाथि विचारहरूले राज गर्छन् । समस्यालाई घुमाइरहन्छन् । उठ्नै दिन्नन् । समस्या टाउको उठाउँछ, तब विचारले त्यसलाई दबाइहाल्छ । विचाराधीनको पनि समय हुन्छ । फाइलको पिठ्युँमा बाँधिएका रातो फित्ताभित्र कागजपत्र छटपटाइरहेका हुन्छन् । यही नै विचाराधीनको स्थिति हो । विचार मानौं कमिला हो, जो सुतिरहेको हात्तीरूपी प्रशासनमुनि दबिएर बसेको हुन्छ । सुतिरहेको प्रशासन वर्तमानलाई भविष्य र भविष्यलाई सुदूर भविष्यमा फ्याँकेर सुत्छ । र, जनतालाई जानकारी दिइन्छ कि उसका समस्याहरू शासककोमा विचाराधीन छन् । हाम्रो सौभाग्य यो हो कि यो देशमा नयाँ विचारहरूले राजकीय ठाँटका साथ जन्म त लिन्छन्, तर दुर्भाग्य ती नयाँ विचारहरू छिट्टै एउटा भिखारी सरह तड्पी तड्पी मृत्युवरण गर्न पुग्छन् । सारा देशभरि प्रस्तावहरू घुमिरहन्छन् । तर यी प्रस्ताव, नयाँ विचार, आइडिया अचार बन्न पुग्छन् । भर्खर जन्मिएका स्टार्टअप उद्यमीहरूका आइडियाहरूको हालत नै हेरौं न । पहिले पहिले कमसेकम यो सुख थियो कि सारा देश एउटा रमाइलो मेला जस्तो लाग्थ्यो र नेताहरू जादुगर जस्ता लाग्थे । नेतालाई देख्न र सुन्न भनेरै मानिसहरू टाढाटाढाबाट ओइरिन्थे । तर अहिले परिस्थिति बदलिएको छ । नेताले बोले पनि वा नबोले पनि त्यसले केही फरक पर्दैन । हाकिम सुत्छन् वा उठ्छन्, त्यसले केही फरक पर्दैन । निर्णय लिए पनि, नलिए पनि केही फरक पर्दैन । यो वा त्यो जुनसुकै समूहले माइतीघरमा धर्ना, जुलुस गरे पनि नगरे पनि केही फरक पर्दैन । सरकारले हडताल, प्रदर्शन गर्ने समूहसँग वार्ता वा कुनै पनि सम्झौता गरे पनि नगरे पनि केही फरक पर्दैन । दैनिक पत्रिकाहरूले जत्ति नै ठूला हेडलाइन बनाएर कुनै समस्याका विषयमा वा कुनै विचार, प्रस्ताव वा विधेयकका विषयमा लेखे पनि, टिभीमा जति कुर्लेर कराए पनि सरकारलाई केही फरक पर्दैन । खबर जतिसुकै गम्भीर, सनसनीपूर्ण रहे पनि २–४ दिनपछि त्यो सारहीन, सनसनीहीन बन्न पुग्छ । भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास जग्गा काण्ड, लगायत काण्डहरूको हबिगत सम्झिनुस् त । माइतीघरबाट आएको जुलुश सिंहदरबार भएर जान्छ । तर हाम्रा हाकिमहरूका झ्याल र ढोकाहरू प्राय: बन्दै रहन्छन् । बरु मोटा तकिया, नरम बिछ्यौना, आरामदायी कुर्सी वा सोफा, एयर कन्डिसनका बीच हाम्रा नेता, मन्त्री र प्रशासकहरू दिउँसै घुरिरहेका हुन्छन् । बरु बिस्तारै बोल्नुस् । अहिले पनि देशका शासक, प्रशासक घुरेर सुतिरहेका छन् । उहाँहरूको सुत्ने र घुर्ने अधिकारलाई तपाईं डिस्टर्ब नगर्नुस् है !