माघ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ ले कमायो १ करोडभन्दा बढी नाफा

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले माघ मसान्तसम्म रू. १ करोड ५ लाखभन्दा बढी नाफा गरेको छ । फण्डले सार्वजनिक गरेको मासिक खुद सम्पत्ति मूल्य सम्वन्धि वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको तुलनामा नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म फण्डले रू. ३३ लाख ३५ हजार मात्र नाफा गरेको थियो ।  माघ महीनामा फण्डको आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म रू. १ करोड २८ लाखभन्दा बढी मात्र आम्दानी गरेको फण्डले माघ मसान्तसम्म रू. २ करोड १५ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम पनि यो महिना बढेको छ । पुस मसान्तसम्म रू. ९४ लाख ९७ हजार खर्च गरेको फण्डले माघ मसान्तसम्म भने रू. १ करोड १० लाखभन्दा बढी खर्च गरेको हो । फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ महीनामा बढेर रू. ८ दशमलव ७३ कायम भएको छ । पुस मसान्तसम्म यो मूल्य रू. ८ दशमलव ६७ रहेको थियो । पुस मसान्तसम्म रू. १ अर्ब ८ करोडभन्दा बढी रहेको खुद सम्पत्ति माघ मसान्तसम्म रू. १ अर्ब ९ करोडभन्दा बढी रहेको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यस फण्डले माघ मसान्तसम्म धितोपत्र दलाल कमिशन, कारोबार शुल्कसमेत धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. १ अर्ब १२ करोड ५० लाखभन्दा बढी छ । फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्यको तुलनामा बजारमूल्य भने कम रहेको छ । माघ मसान्तसम्म फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ९१ कराड ५४ लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्ड २०७८ साल भदौ २३ गतेदेखि सञ्चालनमा रहेको छ । यस फण्ड सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।