घ्यु निर्यात शून्य

दुई वर्षदेखि नेपालबाट वनस्पति घ्युको निर्यात बन्द भएको छ । नेपाल सरकारले भारतका तुलनामा कच्चा पदार्थ आयातमा बढी भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरेकाले घ्यु निर्यात बन्द भएको उद्यमीहरू बताउँछन् । सरकारले कच्चा पदार्थको आयातमा साढे २ प्रतिशत भन्सार शुल्क र साढे ६ प्रतिशत कर लिँदै आएको छ । घ्युको कच्चा पदार्थ मलेसियाबाट आयात हुन्छ । अहिले यस्तो वस्तुमा ८ प्रतिशत कर लिइँदै आएको थियो । अहिले यसलाई घटाएर साढे ६ प्रतिशतमा झारिएको हो । भारतमा ४ प्रतिशतमात्र कर लाग्ने भएकाले नेपालमा पनि सोही बराबर भ्याट लिने व्यवस्था गर्नुपर्ने वनस्पति घ्यु तेल उत्पादन संघका उपाध्यक्ष मनिष अग्रवालले बताए । ‘यस्ता सामग्रीको कच्चा पदार्थको आयातमा सरकारले बहुदर प्रणाली लागू गर्नुपर्छ ।’ अग्रवाल भन्छन् । नेपालमा वनस्पति घ्यु र तेल उत्पादन गर्ने १९ उद्योग दर्ता भएकामा ४ वटा बन्द भइसकेको छन् । सञ्चालनमा रहेका उद्योग पनि खराब अवस्थामा रहेको उपाध्यक्ष अग्रवालले बताए । कम्पनीहरूले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेको उनले जानकारी दिए । उनी भन्छन्, ‘भारतीय उद्योगीहरूले सीमाक्षेत्र नजिक वनस्पतिजन्य घ्यु–तेल उद्योग स्थापना गर्न थालेकाले पनि नेपाली व्यवसायीलाई अप्ठ्यारो परेको छ । सरकारले भारतको जस्तै लचिलो नीति बनाएर उद्योगलाई प्रोत्साहन गर्न सके व्यवसाय फस्टाउने अग्रवालको धारणा छ ।   वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २